सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार शनिवार बिहानसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक नेपाल भित्रिएका छन् । योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने उल्लेख गरेको थियो । 

सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

पर्यटक आगमन उत्साहवद्र्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहको अपेक्षा छ । 

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १० लाख बढी पर्यटक भित्रिएको भन्दै अध्यक्ष शाहले थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरालाई प्रभावकारी सञ्चालन गर्न सकेको खण्डमा अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटकलाई स्वागत गर्न कुनै कठिनाइ नहुने बताउनुभयो ।

सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रूपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । 

यस वर्ष भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । सन् २०१९ मा दुई लाख ५४ हजार एक सय ५० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष तीन लाख १७ हजार चार सय ८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालमा बढी पर्यटक आउने दोस्रो मुलुकमा अमेरिका परेको छ । 

यस वर्ष अमेरिकाबाट एक लाख ९९ सय हजार नौ सय ८५ अमेरिकीले नेपालको भ्रमण गरेका छन् ।  त्यसैगरी चिनियाँ पर्यटकको सङ्ख्या पनि क्रमशः बढिरहेको छ । यस वर्ष ६० हजार एक सय ६० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । यस अवधिमा बेलायतबाट ५२ हजार सात सय ९१ पर्यटक नेपाल भित्रिएका छन् ।

बङ्गलादेशबाट नेपाल आउने पर्यटक पनि यस वर्ष बढेका छन् । सन् २०१९ मा २४ हजार हाराहारी आएका बङ्गलादेशी पर्यटकको सङ्ख्या यस वर्ष ३६ हजार एक सय ९१ पुगेको छ ।

यस अवधिमा श्रीलङ्काबाट २१ हजार आठ सय ४४, संयुक्त अधिराज्य म्यानमारबाट १२ हजार छ सय पर्यटकले नेपालको भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ४९ बजे