जनआक्रोशको ख्याल गर

वैदेशिक रोजगारीमा दक्षिण कोरिया जान आवश्यक रोजगार अनुमति प्रणाली (ईपीएस)  परीक्षामा सामेल गराउन माग गर्दै शुक्रवार परीक्षार्थीले गरेको आन्दोलनका क्रममा ललितपुरको बालकुमारीमा  दुई जना युवकको ज्यान गयाे। विदेशमा गई आफ्नो परिवार पाल्ने सोचमा रहेका दैलेखका २३ वर्षीय सुजन राउत र अछामका २१ वर्षीय वीरेन्द्र शाह प्रहरीको दमनका क्रममा मारिए ।  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएपछि भड्किएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज, टियर ग्यास र गोली प्रहार गरेको थियो। यत्तिखेर उक्त घटनाका विषयमा चौतर्फी विरोध भइरहे पनि सरकार यस घटनामा आफूलाई चोख्याउने हरप्रयास गरिरहेको छ । घटनाको जिम्मा लिनेभन्दा पनि छानबिनको नाटक, घटनामा संलग्न स-साना प्रहरीलाई कारबाही गरेजस्ताे देखाएर सरकार पन्छिने प्रयासमै देखिएको छ । 

शुक्रवार ललितपुरका बालकुमारीमा भएको घटनाबाट वर्तमान सरकार पन्छिन कदापि मिल्दैन । यो देशमा गरिखान  केही सीप नचल्ने भएपछि विदेशमा गई आफू र आफ्नो परिवार पाल्ने सोचमा रहेका आम नागरिकहरूमाथि सरकारले जुन रूप देखायो त्यो आततायी छ, निन्दनीय छ ।

संविधान त रोजगारीको ग्यारेन्टी हाम्रो मौलिक हक हो । मौलिक हकको पालना गराउनु पर्ने सरकारको दायित्व हो । सरकार आफ्नो दायित्वबाट त पूर्णतया विमुख थियाे, अझ सरकारले सकेन, यहाँ जीवन चल्दैन, विदेश गएर परिवार पाल्छु भन्ने नागरिकले विदेशजानका लागि परीक्षा दिन बन्देज लगाइएपछि आफ्नो माग लिएर सडकमा उत्रिँदा त्यसकाे सहज व्यवस्थापन  गर्नुकाे साटाे उल्टाे नागरिकको दमनमा उत्रिनु र हत्या समेत गर्न पछि नपर्नु गम्भीर विषय हो । 

सरकारले महिनौँ देखि जनताका स्वरहरूलाई दबाउनका लागि माइतीघर लगायतका क्षेत्रमा प्रदर्शनमा रोक लगाएकै थियो । प्रदर्शनमा रोक लगाएको क्षेत्र बाहिर गएर प्रदर्शन गर्दासमेत गोली बर्साएर नागरिकहरूको हत्या हुनु सामान्य विषय हुँदै होइन । 

वर्तमान गठबन्धन सरकारले केही दिन अघि (पुस १० )  गते एक वर्ष पुरा गरेको थियो । यो अवधिमा माखो मार्न नसके पनि सरकारले आफ्नो बचाउमा ठुलठुला भाषण गरिसकेको छ । आफ्नो एक वर्षलाई ऐतिहासिक सफलता मान्ने गठबन्धन सरकारको धोती ठुलठुला गफ लडाएको केही दिनमै खुस्किनु संयोग मात्र हैन, यो त उसको करणी र कथनीको भिन्नता दूधको दूध पानीको पानी छुटिनु हो । 

हो, यो सरकार एक वर्षमा पूर्णतया असफल भएको छ । सरकारले बढ्दो जनआक्रोशलाई कुनै पनि तरिकाले संवोधन नगर्दाको परिणाम हो बालकुमारी घटना । बालकमारीको मन्त्री सवार गाडी जलाइनु सरकारप्रतिको असन्तुष्टि र आक्रोशको परिणाम थियो । 

यो देशमा आफ्नो भविष्य नदेखेर विदेश जान पासर्पोट बनाएर बसेका १० हजारभन्दा बढी ठुलो युवापक्तीले सिन्को नभाँच्ने मन्त्रीको गाडीप्रति आक्रोश जनाउनु सामान्य हो । उक्त घटनामा न मन्त्रीको पिएसओ घाइते भएका थिए न मन्त्रीलाई नै कसैले हातपात गरेको थियो । जनतालाई बेरोजगारी, महँगी र कुशासन दिएर आफू चिल्लो कारमा हिँडेका मन्त्री माथि आम नागरिकहरूले आक्रोश पोख्नु सामान्य हो ।

हिंसात्मक घटनालाई भलै राम्रो भन्न नसकिए पनि यो घटना सृजना गरिनुमा सरकारकै दोष थियो । उस्तै परिस्थितिका १९ जनालाई परीक्षामा भाग लिन पाउने तर १० हजारभन्दा बढीले चाहिँ  नपाउने भन्ने यातायात विभाग अन्तर्गतको इपीएस शाखाको बदमासीले जोकोहीलाई पनि रिस उठ्ने पारेकै थियो । उक्त आक्रोशलाई मत्थर पार्नु त कता हो कता चिल्लो कारमा सरर हुइँकिएर आफ्नो बहुलठ्ठीपन देखाउने मन्त्री प्रकाश ज्वालाको बहुलठ्ठी पन माथि युवाहरूले अझै संयमित भएर आन्दोलन गरेको देखिन्छ । मन्त्रीमाथि हातपात या हुल इज्जत भएको भए परिणाम के हुन्थ्यो  ?  बिना नेतृत्व, बिना सुझबुझ सुरु भएको दङ्गामा पनि मन्त्रीको गाडीमाथि मात्र आक्रमण हुनुले उनीहरू अनुशासित थिए,संयमित थिए भन्ने पुष्टि हुँदैन र ?  । उनीहरू सरकार जस्तो अन्धो, र क्रूर थिएनन् भन्ने  आज युवाको ठाउँमा थप एक मन्त्रीको शव थपिने थिएन र ? 

हो पर्र्दशन भयो युवाहरूले आक्रोश पोखे तर बेरोजगार युवाहरूको आक्रोशलाई दमनले हैन संयम र संवादले हल गर्नुपर्छ भन्ने चेत के सत्तामा पुग्नेहरूले सोच्नु पर्दैन ?सत्तामा बसेर उन्मत्त भएका साँढेहरूले आफ्नो गाडीमाथि भएको आक्रमणको आक्रोश नागरिक हत्या गरेर पोख्न मिल्छ ?  

ती दुई निहत्था नागरिकको हत्याको जिम्मेवारी यो सरकारले पूर्णरुपमा लिनु पर्दछ । यो हत्या राज्यको निर्देशनमा, संरक्षणमा र राज्यको कमजोरीका कारण नै भएको हो । यसर्थ जन हत्यारो सरकारले तत्काल राजीनामा दिनु पर्दछ । यो सरकारलाई सत्तामा बस्ने नैतिक आधार अब छदै छैन । जनहत्याराहरू हो राजीनामा देऊ ।

कमसेकम सत्तामा बस्नेहरूले मन्त्रीको गाडी जल्ने घटनामा म यसको लागि कति जिम्मेवार छु भन्ने कुराको हेक्का  राख्न पर्दैन ?  जुन सपना र आशा देखाएर हिजाको आन्दोलनमा जनतालाई प्रयोग गरियो अझ  हिजो जनताको भोट नै किन मागियाे त्यो पुरा गर्न सकिएन भने जनआक्रोश बढ्ने रहेछ र त्यसेको परिणाम घटना घट्यो भन्ने बुझ्न पर्दैन ? 

के हिजो आफूले नरसंहार गर्दै त्यसैलाई जनयुद्ध भन्न पाइने आज उनैको सरकार छँदा नागरिकहरूले सडकमा आन्दोलन गर्न पनि नपाइने । यदि तिम्रो शासनमा जनता मार्नु समाजवाद र साम्यवाद हो भने धिक्कार छ तिमीहरूलाई । हैन जनता मार्न पाइँदैन भने घटनाको तत्काल जिम्मा लिउ र राजीनामा देऊ  । फेरी पनि दोहो¥याउँ जनहत्याराहरू हो राजीनामा देउ । 

 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ३ : ३१ बजे