नेपाल विद्युत् प्राधिकरणले काट्यो थप १४ उद्योगहरूको बिजुली

काठमाडौँ।  नेपाल विद्युत् प्राधिकरणले थप १४ उद्योगहरूको बिजुली काटेको छ । 

विगतमा डेडिकेटेड फिडर एवम् ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापत प्रिमियमसहितको महसुल नतिरेका कारण उनीहरूको विद्युत् आपूर्ति बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

यही पुस ६ गतेदेखि यस्तो अभियान सञ्चालन गरिरहेको प्राधिकरणले शुक्रवार ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन काटेको जनाएको छ ।

विद्युत् प्राधिकरणका अनुसार शुक्रवार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एन्ड स्टिल (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ), एभरेस्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ) को लाइन काटिएको छ।

यसैगरी, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नि सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ) को लाइन काटिएको विद्युत् प्राधिकरणले जनाएको छ। 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १० : २४ बजे