दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्याताविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

शुक्रबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुबै पक्षलाई बोलाएको हो ।

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएर दायर गरिएको रिट निवेदनमा सुनुवाइ गर्ने तयारी अनुसार पेसी तोकिएको हो। निवेदकहरुले गर्भनर अधिकारी उक्त पदका लागि योग्य नरहेको जिकिर गर्दै शैक्षिक योग्यता नपुगेको दाबी गरेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा व्यवस्था भए बमोजिम गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको र गर्भनर अधिकारीको योग्यता नरहेकाले निवेदकहरुले नियुक्ति बदरको माग गरेका छन् ।

गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्रै रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिट निवेदकहरुको दाबी छ। गभर्नर अधिकारीको नियुक्तिविरुद्ध यसअघि पनि अदालतमा रिट परेको थियो । तर, सो रिट सर्वोच्चले दरपिठ गरेको थियो ।

अधिकारी २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । उनको नियुक्तिलाई लिएर यसअघि पनि विभिन्न प्रश्नहरु उठ्दै आएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : ०८ बजे