‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

केपी ओली नेपाली राजनीतिको सेलिब्रेटी : उपमहासचिव रिमाल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले केपी ओली नेपालको राजनीतिको सेलिब्रेटी भएको बताउनुभएको छ । 

सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव रिमालले कसैले माने पनि नमाने पनि उहाँ नेपालको राजनीतिक सेलिब्रेटी भएको बताउनुभयो ।  ‘केपी ओली एक्लै उभिँदाखेरि त्यतिकै मान्छे ओइरिन्छन्, उहाँमा त्यस किसिमको क्रेज छ, त्यसमा कसैले डाहा गरेर रिस गरेर भएन’, रिमालले भन्नुभयो । 

केपी ओली असाध्य लोकप्रिय र सबैले मन पराउने नेता भएको रिमालले दाबी गर्नुभयो । केपी ओलीको बिचार, व्यवहार र कुरा सबैले मन पराउने उहाँको भनाइ छ । 

त्यो क्रम एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि सङ्कल्प यात्रामा पनि देखिएको उहाँले बताउनुभयो । ‘साना केटाकेटीदेखि पाका मानिसहरूसम्म केपी ओलीलाई हेर्न भनेर आए नि, छुन भनेर आए नि’, उहाँले भन्नुभयो । 

यात्राको क्रममा धादिङमा बाटो बिराएर पार्टी अध्यक्ष अर्कै बाटो लाग्दा उहाँलाई माला लगाउन बाटोमा बसेका मानिसहरूले अरू कुनै पनि नेतालाई त्यो माला नलगाएर उहाँलाई नै लगाउने भनी घरै लिएर फर्किएको घटना रिमालले सुनाउनुभयो । त्यो भनेका उहाँ प्रतिको अगाध माया र विशेष खालको आकर्षण भएको उहाँले बताउनुभयो । ‘यसलाई मानिसहरूले स्विकार्नुको विकल्प छैन, जसले मन पराउँदैन त्यसले पनि केपी ओलीसँग फोटो खिच्न चाहन्छ, जसले मन पराउँछ ऊ त हुरुक्कै हुन्छ, केपी ओली त्यही नै हो’, रिमालले भन्नुभयो । 

रिमालले केपी ओली बाको ब्राण्ड नै बनिसकेको पनि बताउनुभयो । ‘नभन्नुस् भनेर के गर्नुहुन्छ तपाईँले ? जसरी कम्युनिस्ट कार्यकर्ताले आफ्नो साथीलाई कमरेड भन्छन्, ठिक त्यसैगरी हाम्रो पार्टीको अध्यक्षलाई सबैले बा भन्छन्, कसैले डाहा गरेर भयो र, उहाँको निकनेम नै केपी बा भयो, बा भनेको फादर भनेको होइन, बा भनेको उहाँको पद नै बन्यो, माया गरेको, सम्मान गरेको उच्चतम पद हो, उच्चतम सम्मान बा भनेर केपी ओलीलाई जनताले सम्मान दिने गरेका छन्, अरूले त्यसमा ईष्या गर्नुपर्ने, कुरा काट्नु पर्ने, त्यसको कारण म देख्दै देख्दिन’, उहाँले भन्नुभयो । 

एमालेको अभियानमा घोडामा आएका बालकले कपी बालाई भेट्न हिँडेको भनी भनेको प्रसङ्ग पनि रिमालले सुनाउनुभयो । कतिपय विद्यालयका बालबालिका स्तस्फुर्त रूपमा उहाँलाई नै भेट्न आएको उल्लेख गर्नुहुँदै रिमालले कतिपयले एमालेले बालबालिकाको दुरुपयोग गर्‍यो भनी हल्ला समेत फिँजाएको बताउनुभयो । उनीहरू कसैले ल्याएको वा बोलाएको नभई केपी ओलीलाई भेट्न र छुनको लागि आएका रिमालले बताउनुभयो । 

उपमहासचिव रिमालले विद्यार्थीहरूलाई कुनै पनि राजनीतिक दलका नेता जाँदा भेट्न र कुरा गर्न दिनुपर्ने उहाँको धारणा छ । यसले उनीहरूले राजनीति बुझ्ने र नेतालाई चिन्ने अवसर पाउने बताउनुभयो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : ०२ बजे