ढलान हुने अवस्थामा रहेको  इर्खुवा खोलाको पुल भत्कियो

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा निर्माणाधीन मोटरोबलपुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका वडा नम्बर २ र साल्पासिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्छ । 

ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको हाे । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजरुपमा आवतजावत गर्ने चाहना  निराशामा परिणत भएको छ । स्थानीयबासीले ठेकेदारको लापरबाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको अनुमान गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखी सकेको अवस्थामा पुल तल खसेको बताउनुभयो । पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नु पर्ने माग स्थानीयहरूले राखेका छन् । 

लापरबाहीका कारण यसअघि पनि भोजपुरकै दक्षिण क्षेत्र जोडने कावा खोलामा पाँच करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मंसिरमा भत्किएको थियो  । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्विस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको  थियो । 

 

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ४ : ०९ बजे