दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रिय सभाको उम्मेदवारीका लागि १० हजार धरौटी

काठमाडाैँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ। यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको जनाएको छ।

आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ।

त्यस्तै, राष्ट्रिय सभा सदस्यको उम्मेदवारले १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेश गर्नुपर्नेछ। महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा ५० प्रतिशत छूटको व्यवस्था गरिएको छ।

आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहको सिफारिशपत्र संलग्न गर्नुपर्नेछ। मनोनयनका लागि दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र, दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिका लागि सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा आवश्यक पर्नेछ।

अपांगता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपांगताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ।

साथै, अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा संलग्न हुनुपर्नेछ।

यस्तै, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेश सभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको मेयर वा उपमेयर समावेश भएको निर्वाचकमण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण, मतदाता नम्बर पनि उल्लेख गर्नुपर्नेछ।

यससँगै घर संख्या, घर रहेको स्थान तथा जग्गाको विवरण खुलाइएको उम्मेदवारको सम्पत्ति विवरण, कुनै संघीय कानूनले अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र, निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणापत्र पनि आवश्यक पर्ने आयोगले जनाएको छ।

आगामी फागुन २० गते राष्ट्रिय सभामा निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक सदस्यको कार्यकाल सकिंदै छ। रिक्त रहने १९ पदका लागि निर्वाचन हुनेछ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १२ : ५१ बजे