साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ठुलो परिमाणमा सुर्तीजन्य पदार्थ नष्ट

विराटनगर । विराटनगर महानगरपालिकाले बरामद गरेको ठुलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । 

विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बरामद गरेको थियो । 

पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । 

सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै महानगरको सरसफाइमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको मेयर नागेश कोइरालाले बताउनुभयो । 

मेयर कोइरालाकै उपस्थितिमा महानगरले बुधवार करिब ५९ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको हो । गुट्खा, तुल्सी, खैनीलगायतका सुर्तीजन्य पदार्थ नष्ट गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । 

यसअघि पनि ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरिएको थियो । 

महानगरले पौडेललाई नै सुर्तीजन्य पदार्थको अनुगमनको जिम्मेवारी तोकेको छ । केही दिनअघि एक जना व्यापारीलाई महानगरले १० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो । पटक–पटकको चेतावनीलाई बेवास्ता गर्दै केही बिक्री गरेको फेला पारेपछि महानगरले ती व्यापारीलाई जरिवाना गरेको जनाएको छ । 

सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्धपछि विराटनगरमा सरसफाइमा समेत सहयोग पुगेको मेयर कोइरालाको भनाइ थियो । 

“विराटनगरका सडकहरूमा आज सुर्तीजन्य पदार्थका खोलहरू त्यति देखिँदैन । गुट्खा खाएर थुकेको पनि देखिँदैन,” मेयर कोइरालाले भन्नुभयो, “एकै चोटि निर्मूल नहुन सक्छ तर न्यूनीकरण भएको छ । महानगरको यस अभियानमा सहयोग गर्न सबै महानगरवासीलाई आग्रह गर्दछु ।”

महानगरले गत वैशाख १ गतेदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो । 

त्यस्तै साउन १ गतेदेखि भने सुर्तीजन्य पदार्थ बिक्रीको अनुमति खारेज र नयाँ दर्तासमेत बन्द गरेको छ । 

महानगरले सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनलाई नियन्त्रण गर्न ऐनसमेत जारी गरेको छ । १ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने ऐनमा उल्लेख छ । 

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ७ : २० बजे