तातोपानी नाकामा ‘हेल्थ डेक्स’को स्तरोन्नतिका लागि सरोकारवालाहरुको चासो

सिन्धुपाल्चोक । नेपाल चीनबीचको सीमा नाका तातोपानीको हेल्थ डेक्सको अवस्था बारे छलफल भएको छ ।

मङ्गलवार सीमा क्षेत्र तातोपानीमा आयोजित हेल्थ डेक्सको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, चौतारा अस्पताल, स्थानीय हेल्थ डेक्सका स्वास्थ्यकर्मी, सुरक्षा संयन्त्र, स्थानीय सरोकारवाला, भन्सार तथा अध्यागमन कार्यालय, ईपिक नेपाल र जनप्रतिनिधि सहितको छलफलले हेल्थ डेक्सको स्तरबृद्धि तथा कोभिड–१९ व्यवस्थापन बारे चासो व्यक्त गरेका हुन् । 

बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री मसिना खड्काले सुरक्षा सतर्कताले नै कोभिड नियन्त्रण भएको ल्याउँदै सुरक्षा सतर्कता सँगै आधुनिक उपकरण प्रयोगमा ल्याउन सङ्घीय मन्त्रालयमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

देशभरका सबै सीमा नाका व्यवस्थित बनाउन एकीकृत चेकजाँचको व्यवस्था आजको आवश्यकता रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले बताउनुभयो ।

दरबन्दीसहितको जनशक्ति व्यवस्थापन र सङ्क्रमण रोगको उद्गमस्थलमै निरूपणमा जोड दिनुपर्ने स्वास्थ्य विभागको नियमावली कार्यक्रममा प्रस्तुत भएको हो । 

विभागको व्यवस्थापन महाशाखा निर्देशक डा.सर्वेश शर्मा, जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईँ, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीसहितले हेल्थ डेक्सको स्तरबृद्धि, ऐन नियमको पालना, सीमा क्षेत्रमा स्वास्थ्य जाँचमा समानता र नियमितता, उपचारको सुनिश्चितताको आवश्यकता अनुरूप कार्य सञ्चालनमा लाग्न जोड दिनुभयो । 

चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टङ्क कार्कीले स्वास्थ्य क्षेत्र सुधारको प्रयास सकारात्मक रहेको जानकारी दिनुभयो । 

हेल्थ डेक्सको स्तर वृद्धि पारी चीनमा जस्तै भवन र सुविधा बारे आफूहरू लगिपरेको र सोको प्रक्रिया स्वरूप भवन निर्माणको लागि जग्गा प्राप्तिको काम भइसकेको भोटेकोशी गाउँपालिका वडा नं.२ का अध्यक्ष कुमार श्रेष्ठले सो कार्यक्रममा जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ३० बजे