‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ज्ञान, सिप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि जीवित पाठशाला : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सिप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि जीवित पाठशाला भएको बताउनुभएको छ । 

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै पूर्व राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूमा अन्तर्निहित ज्ञान, सिप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गर्न सक्ने बताउनुभयो  ।  उहाँले ज्येष्ठ नागरिकहरूले आर्जन गरेका अमूल्य ज्ञान र अनुभवहरूलाई समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग गर्न परिवार‚ समाज र राज्यको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । 

वितेका केही दशकयता जीविकोपार्जनमा आएको परिवर्तन, फेरिएको जीवन पद्धति, आप्रवासन आदिका कारण हाम्रो पारिवारिक संरचनामा समेत अभूतपूर्व परिवर्तनहरू देखिन थालेको उल्लेख गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले ठूलो आकारको संयुक्त परिवारको सट्टा सानो एकल परिवारमा बस्ने प्रचलन बढ्दै गएको बताउनुभयो । उहाँले यस्तो परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदै गएको बताउनुभयो । उहाँले जीवनको उत्तरार्द्धमा पुगेका वृद्धवृद्धाप्रति सन्ततिको कर्तव्य बोध र जिम्मेवारीको भावना समेत क्रमशः ह्रास हुँदै गएका कारण पारिवारिक स्नेह र हेरविचारबाट अग्रजहरू विमुख हुँदै गएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ  ।

पूर्व राष्ट्रपति भण्डारीले आफ्नो जीवनको सम्पूर्ण ऊर्जाशील र उत्पादनशील समय परिवार, समाज र राष्ट्रका निम्ति समर्पण गरेका ज्येष्ठ नागरिकहरूको सहज, सुरक्षित र सम्मानित जीवनलाई सुनिश्चित गर्ने दायित्व पनि परिवार, समाज र राज्यको भएको बताउनुभयो ।   ‘मातृदेवो भवस्, पितृ देवो भवस्’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित हाम्रो परिवार प्रणाली, मूल्य, मान्यता, संस्कार र संस्कृतिलाई बचाउँदै ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न उहाँले सबैमा आह्वान समेत गर्नुभएको छ ।

वि.सं.२०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको ऐतिहासिक दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ को रूपमा मनाउन सुरु गरिएको यो तेस्रो वर्ष हो । 

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : ३७ बजे