रुसी सेनामा पुगेका झण्डै एकसय नेपाली बेपत्ता

काठमाडौं । रूसी सेनामा भर्ना हुन पुगेका एकसय जना नेपाली बेपत्ता भएका बताइएको छ ।

परराष्ट्र मन्त्री एनपी साउदले एक सय जना नेपालीहरू हराइरहेको उजुरी परेको जानकारी दिएका हुन् । रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ ।

यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा उनीहरूका परिवार र साथीभाइले गरेका उनले बताए ।

काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको उनले जानकारी दिए ।

रूसी सेनामा गएकामध्ये युक्रेनी सेनाको कब्जामा रहेका नेपालीलाई छुटाउने प्रयास भइरहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ९ : १८ बजे