सीसीटीभी फुटेज बारे क्यानले भन्यो- २१ दिनभन्दा बढीको ‘रिकभर’ गर्न बजेट पुगेन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सिसिटिभी फुटेजको स्टोरेज २१ दिन मात्र हुनुमा बजेट अभाव भएको जनाएको छ । 

तीन महिनासम्मको फुटेज सुरक्षित राख्नुपर्ने संवैधानिक व्यवस्था भएपनि विमानस्थल कार्यालयले भने २१ दिनको मात्रै राखेको थियो । 

मङ्सिर २१ गते दुबईबाट नेपाल तस्करी भएर आएको १४ किलो सुनको अध्ययन गर्ने क्रममा भन्सार कार्यालयमा २१ दिनको मात्रै सिसिटिभी फुटेज भेटिएको छानबिन समितिले जनाएको थियो । 

त्यसलगत्तै विभिन्न मिडियाहरूले समाचार प्रकाशन गरेका थिए । त्यसलगत्तै उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै सिसिटिभी स्टोरेज तीन महिनाको बनाउन बजेट माग गरिएको तर तत्कालीन समयमा कोभिड १९ का कारण अन्य प्राथमिक क्षेत्रमा खर्च गर्नुपरेको र जसका कारण बजेट प्राप्त नभएको उल्लेख गरेका छन् ।

‘विमानस्थल कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सिसिटिभी क्यामेराको रेकर्ड ३ महिना स्टोरेज रहने व्यवस्थाका लागि प्राधिकरण प्रधान कार्यालयमा बजेट माग गरेकोमा कोभिड १९ का कारण बजेट अभाव भई अरू प्राथमिक क्षेत्रमा बजेट व्यवस्था गर्नुपर्ने भएकोले बजेट उपलब्ध हुन सकेन’, विज्ञप्तिमा भनिएको छ ।

यद्यपि असोज २७, २०८० बाट भने विमानस्थलका विभिन्न क्षेत्रमा गरी जडित ५०० वटा सिसिटिभीको स्टोरेज तीन महिना बनाउन लागिएको र यसै वर्षभित्र त्यो सम्पन्न हुने जनाइएको छ ।

 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ३० बजे