विमानमै शिशु जन्माउने महिलाको बयान- शौचालयमा बेहोस भएँ, के-के भयो थाहै पाइनँ

काठमाडौं । यूएईबाट काठमाडौं आउने क्रममा विमानको शौचालयमै मृत शिशुलाई जन्म दिएकी युवतीले आफू बच्चा जन्माउनकै लागि नेपाल आएको बताएकी छिन् ।

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत ती महिलाले प्रहरीसँगको बयानमा रोजगारीका लागि यूएईमै रहँदा आफू नेपाली केटासँग प्रेममा परेको र बच्चा जन्माउनकै लागि नेपाल आएको बताएकी हुन् ।

पुस ४ गते यूएईबाट काठमाडौं आएको एयर अरेबियाको विमानको शौचालयभित्र उनले मृत शिशुलाई जन्म दिएर छोडेकी थिइन् । सरसफाइ कर्मचारीले शौचालयमा मृत शिशु फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

नवलपरासीको बर्दघाटकी ३० वर्षीय उनलाई प्रहरीले नाजुक अवस्थामा नियन्त्रणमा लिएर अस्पतालको आईसीयूमा भर्ना गरेको थियो । उनले आफू विमानको शौचालयमा बेहोस भएको र त्यसपछि के भयो आफूलाई थाहा नभएको बयान दिएकी हुन् ।

‘शौचालयमा गएपछि म बेहोस भएँ । पछि के के भयो, थाहै पाइनँ । प्रहरीले समातेपछि झसङ्ग भएँ’, उनले भनिन् । प्रहरीले उनको परिवारलाई पनि सम्पर्कमा ल्याएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ०७ बजे