जानकी मन्दिर सबैको प्रतिष्ठा हो‚ विवादित नबनाऔँ : महन्त रामरोशन

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकी मन्दिरलाई विवादित नबनाउन आह्वान गर्नुभएको छ । 
उहाँले अयोध्यामा भगवान् श्रीरामको ससुरालीको प्रतिनिधित्व गर्दै घरवास विधिमा उपहार सहितको भार पुग्नु जनकपुरधामवासीकै लागि सौभाग्यको विषय हुने बताउनुभयो ।

विश्व हिन्दु परिषद्का स्थानीय पदाधिकारीहरू, जनकपुरधामका मेयर सहितका अगुवालाई राखेर मंगलवार मन्दिर प्रांगणमा पत्रकार सम्मेलन आयोजना गर्दै उत्तराधिकारी महन्त रामरोशन दासले विश्व हिन्दु परिषद्को समन्वयमा यो पवित्र काम हुन गइरहेकाले शंका गर्नुपर्ने ठाउँ नरहेको बताउनुभयो।

‘यो जानकी मन्दिरको विषय मात्र होइन’, उहाँले भन्नुभयो‚ ‘सम्पूर्ण जनकपुरधाम र मिथिलाञ्चल क्षेत्रको प्रतिनिधित्व हुने काम हो। यसमा कसैले व्यक्तिगत अहं नदेखाऔँ।’

भावुक हुँदै महन्त दासले नवनिर्मित मन्दिर भगवान् श्रीरामको मात्र नभई हाम्री किशोरीज्युको पनि मन्दिररूपी नयाँ घर रहेको भन्दै उहाँले भन्न्भयो, ‘यसमा आधिकारिकता, यो र त्यो किन खोज्ने ? यो त पौराणिक नियम र निष्ठा हो। मेरा लागि उपहार लिएर आउनोस् भनेपछि कहीँ कतै जाने हो ?’

उहाँले भन्नुभयो  ‘हामी आइरहेको सुन्दा त्यहाँका साधुसन्त र धार्मिक क्षेत्र भावविभोर छ।’ उाहँले जानकी मन्दिरलाई विवादित देखाउने किसिमको सूचना सम्प्रेषण नगर्न आग्रह समेत गर्नुभयो।​

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले २५१ जनाको समूहलाई आधा घण्टाको समय प्रदान भएको र ससुराली मिथिला क्षेत्रबाट पाहुर भार आइरहेको खबरले अयोध्यामा खुसी छाएको खबर आफूहरूले पाएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।

मेयर साहले जानकी मन्दिरलाई विवादित बनाउने काम नगर्न सबैमा आग्रह गर्नुभयो। 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : १० बजे