कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

पोखरा । कास्कीको पोखरा महानगरपालिका-५ प्रस्याङमा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिँदा बागलुङ ढोरपाटन नगरपालिका-६ घर भई हाल पोखरा-३ नदीपुर बस्दै आएका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको शव सोही अस्पतालमा रहेको छ ।

ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक भने फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १० : ३१ बजे