सिद्धार्थ राजमार्ग दैनिक छ घण्टा बन्द हुने

पाल्पा – सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस १६ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको हो ।

सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ ।

बन्दका बेला अत्यावश्यक सवारीसाधनलाई भने संचालनमा रोक नलगाइने प्रजिअ काफ्लेले बताउनुभयो । सिद्धबाबा सुरुङ् मार्ग निर्माण आयोजना कार्यालयबाट पत्राचार भइ आएकाले योजनाको कामलाई अगाडि बढाउन स्थानीय प्रशासनले सडक बन्द गर्न लागेको हो ।

सडक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने बताइएको छ । सुरुङ् मार्ग निर्माण गर्दा माथिबाट पहिरो र ढुङ्गाहरू खस्ने भएकाले सडक बन्द गरेर आयोजनाको काम अगाडि बढाउनुपरेको सुरुङ् मार्ग आयोजना कार्यालय बुटवलका प्रमुख रामपुकार जैसवालले बताउनुभयो ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको छ । सुरुङ् मार्गको हालसम्म ८ प्रतिशत मात्र काम भएको छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ६ : ४९ बजे