‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्स-रे ’ सेवा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्स-रे’ सेवा सुरु भएको छ ।  

लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट एक वर्षअघि रु ४२ लाख मूल्य बराबरको ५०० एमए एक्स-रे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो । 

केन्द्रका सूचना अधिकारी यमन नेपालीले लायन्स क्लबले उपलब्ध गराएको एक्स-रे मेसिनको कम्प्युटेड रेडियोग्राफी प्रणालीलाई पुरानो १०० एमएको एक्स-रे मेसिनमा जडान गरी डिजिटल बनाएर आइतबारदेखि प्रयोगमा ल्याइएको जानकारी दिनुभयो । 

“५०० एमए रेडियोग्राफीसहितको एक्स-रे मेसिन धेरै प्रयास गर्दा पनि प्रयोगमा ल्याउन नसकेपछि सोको प्रणाली केन्द्रमा रहेको पुरानो मेसिनमा जडान गरेर सेवा सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “डिजिटल एक्स-रे सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।” 

डिजिटल एक्स-रे सेवा भएपछि बिरामीको उपचार गर्न सहज हुने सूचना अधिकारी नेपालीले बताउनुभयो । केन्द्रबाट मालिका, धौलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने गर्दछन् । सो क्षेत्रका बासिन्दालाई एक्स-रे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ । 

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक्सरेको रिपोर्टको आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको हो । हाल प्रयोगशाला, एक्स-रे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ । रासस

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १० : ५६ बजे