‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

‘समृद्धिका लागि सङ्कल्प यात्रा असाधारण रूपमा सफल’ 

काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले पुष्पलाल मध्य पहाडी लोकमार्गमा सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ असाधारण रूपमा सफल भएको बताउनुभएको छ । 

पार्टीले समृद्धिका लागि सङ्कल्प यात्रामा केन्द्रित रहेर केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको सञ्चारकर्मीसँग संवाद कार्यक्रममा अध्यक्ष ओलीले जनतामा आएको नैराश्यभावलाई यात्रा क्रममा चिर्ने काम भएको स्पष्ट पार्नुभयो । यात्राले असाधारण सामाजिक सद्भाव समेत कायम गरेको र राष्ट्रिय रूपमा धेरै सन्देश दिएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले अवाञ्छित खालका चिन्तनलाई अघि बढाउने प्रयासलाई यात्राले असफल बनाएको र गलत भाष्यलाई चिर्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो– अनेक खालका गलत भाष्यलाई यात्राले चिर्ने काम गरेको र सही भाष्यलाई स्थापित गर्न यात्रा सफल भएको छ । हिंसाका प्रवृत्ति र ढुङ्गा हान्ने कुरालाई यो यात्राले निस्तेज गरिदिएको उहाँले बताउनुभयो । नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको अध्यक्ष ओलीले बताउनुभयो । तर युवा पङ्ती देशै छाडेर हिँड्नु गम्भीर चुनौती भएको उहाँको भनाइ छ ।

दीर्घकालीन रूपमा देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको मध्य पहाड खाली हुँदै जाने हो भने देशको भविष्य अन्धकारमय हुने हुँदा मध्य पहाडमा आधुनिक कृषिमा जोड दिएर बसाइसराइलाई रोक्नुपर्ने धारणा अध्यक्ष ओलीले राख्नुभयो । उहाँले भन्नुभयो– मध्य पहाडमा बाटो, बिजुली, सञ्चार सबै छ । खान लाउन पुग्ने अवस्थाको मानिस पनि त्यहाँ अडिएको छैन । त्यहाँ निर्वाहमुखी कृषि होइन, कृषिलाई आधुनिकीकरण गरी बचत हुने अवस्थामा पुर्‍याउनुपर्छ । 

अध्यक्ष ओलीले यात्रा क्रममा प्राप्त सुझाव र मागका बारेमा पार्टीले लिने पहलकदमीका बारेमा सम्बन्धित पक्षलाई जानकारी गराइने बताउनुभयो । उहाँले मध्य पहाडको बसाइसराइ र युवा बिदेसिने प्रवृत्ति रोक्नका लागि पार्टीले विज्ञहरूसमेतको सहभागितामा गम्भीर रूपमा छलफल गर्ने छ भन्नुभयो । नेकपा (एमाले)ले गरेका काम स्थलगत यात्रामा देखिएको र एमाले सरकारमा हुँदा गरेको काम हेर्न गाउँमा नै छिर्नुपर्छ भन्ने सन्देश यात्राले दिएको उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले सङ्कल्प यात्रा सांस्कृतिक उत्सवको यात्रा पनि भएको र यसले सांस्कृतिक एकता कायम गर्न सहयोग गरेको भनाइ राख्नुभयो । उहाँले यात्राका क्रममा विभिन्न जिल्लामा सर्वदलीय, सर्वपक्षीय बैठक गरी सुझाव आएकाले यात्रा सबै हिसाबले सफल भएको स्पष्ट पार्नुभयो । विकासका निम्ति कहाँ कहाँ के के गर्नुपर्छ भन्ने सुझाव यात्राको क्रममा आएको उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले लोकतन्त्र जोगाउन नागरिकले जस्तोसुकै त्याग र बलिदान गर्ने बताउनुहुँदै नेपालमा कसैले चाहेर लोकतन्त्रको जग हल्लाउन नसक्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारहरूको जिज्ञासामा अध्यक्ष ओलीले सङ्घीयता कार्यान्वयन भर्खर पाँच छ बर्षमात्र भएकाले यसलाई सफल बनाउन सबैले कोसिस गर्नुपर्ने धारणा राख्नुभयो । यात्राको माध्यमबाट एमालेले राष्ट्रिय एकता कायम गर्ने र लोकतन्त्रलाई थप सुदृढ गराउने काम गरेको उहाँले स्पष्ट पार्नुभयो । 

अध्यक्ष ओलीले जनसङ्ख्या र भूगोलको हिसाबले ठुलो हिस्सा ओगटेको मध्य पहाडमा अहिलेकै अवस्था रहने हो भने देश समस्यामा पर्छ भन्ने सोचका साथ त्यहाँका नागरिकमा आशा जगाउन यात्रा गरिएको स्पष्ट गर्नुभयो । उहाँले यात्राका क्रममा समस्या पहिचान र सम्भावना प्रकट भएको प्रष्ट पार्नुभयो । लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन आफूहरू लागिरहेको र सबै त्यसमा लाग्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा नेकपा (एमाले)को देश र जनता प्रतिको बुझाइ निक्कै फराकिलो भएको र कुनै पनि विश्वविद्यालयबाट प्राप्त गर्न नसक्ने ज्ञान यात्राको क्रममा प्राप्त भएको अध्यक्ष ओलीले बताउनुभयो । 

देशको वर्तमान अवस्थाका बारेमा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण देश गलत बाटोमा गइरहेको र भर्खरै एनसेलको स्वामित्व किनबेचको विषय निक्कै गम्भीर विषय भएको धारणा व्यक्त गर्नुभयो । खर्बौँको सम्पत्ति करोडमा कारोबार गर्ने कुरालाई कुनै पनि हालतमा सही भन्न नसकिने भनाइ उहाँले राख्नुभयो । अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको बताउनुभयो । भ्रष्टाचार, कमिसन र अनियमितताको कारण विकास र समृद्धिको काम ठप्प भएको उहाँको भनाइ छ । नेकपा (एमाले)ले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय  आकाङ्क्षालाई आफ्नो गन्तव्य बनाएकाले यसलाई पूरा गरेरै छाड्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र सुशासनको पक्षमा नेकपा (एमाले) निरन्तर लाग्ने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा महासचिव शङ्कर पोखरेलले जनतामा व्याप्त निराशालाई आशामा बदल्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सबैले साथ दिनुपर्ने बताउनुभयो । महासचिव पोखरेलले अहिलेको निराशा र अस्थिरतालाई सम्बोधन गर्न बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको र त्यसकै लागि यस पटक मध्य पहाडको यात्रा गरिएको बताउनुभयो । एमालेले चलाएको यात्राको बारेमा राष्ट्रिय विमर्श होस् भन्ने आफूहरूले चाहेको उहाँको भनाइ छ ।

संवाद कार्यक्रमको सहजीकरण गर्नुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले सङ्कल्प यात्राका क्रममा तय गरिएका पाँच वटा उद्देश्यबारे जानकारी गराउनुभयो । उपमहासचिव ज्ञवालीले पहाडका कुरा त्यहाँका जनताको मुखबाट सुन्न र सुझाव लिन, देश बन्छ भन्ने सन्देश जनतासमक्ष प्रवाह गर्न, लोकमार्गमा यात्रा गरेर पार्टीले गरेका गौरवगाथा सुनाउन, सामाजिक सद्भाव भत्काउने खाले गतिविधिलाई चिर्ने र एकताको सन्देश सम्प्रेषण गर्ने र सार्वभौम अधिकार भएको निकाय जनताले के भन्नुहुन्छ सुन्ने र सिक्ने उद्देश्य लिएर एमालेले पदयात्रा थालेको र त्यस उद्देश्यमा सफल भएको जानकारी दिनुभयो ।

कार्यक्रममा ‘झुलाघाट–चिवाभञ्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि र समृद्धिका लागि पार्टीका सात सङ्कल्प सार्वजनिक गरिएको छ । 

तीन साता लामो यात्राका क्रममा खासगरी मध्य पहाडको आर्थिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या बुझ्ने मौका पाएको जनाइएको छ ।यात्राका क्रममा मध्य पहाडमा सबभन्दा ठुलो समस्या बसाइसराइ र युवा पलायन रहेको निष्कर्ष निकालिएको छ । नेकपा (एमाले)ले पहाडी क्षेत्रको विकास निर्माणका लागि सात वटा निष्कर्षसहित सङ्कल्प गरेको छ । नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको निष्कर्ष निकाल्दै सामाजिक न्याय, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा रहेको पाइएको जनाइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, विभिन्न आम सञ्चारमाध्यमका सम्पादकहरू शुभशङ्कर कँडेल, शिव गाउँले, उमेश चौहान, गुणराज लुइँटेल, मातृका पौडेल, सागर पण्डित लगायतले अध्यक्ष ओलीसँग जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, उपमहासचिव विष्णु रिमाल, सचिवहरू लगायत केन्द्रीय निकायका अध्यक्ष, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : ५१ बजे