इन्जिनियरको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग

काठमाडौँ । नेपाल इन्जिनियरिङ एसोसिएसनले इन्जिनियरको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग गरेको छ । 

एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गरी न्यूनतम पारिश्रमिक ३७ हजार १३५ रुपैयाँ निर्धारण गर्न माग गरेको हो ।

सरोकारवाला निकायसँगको चरणबद्ध छलफल र अनलाइन सर्भेबाट प्राप्त सुझावका आधारमा त्यस्तो माग गरिएको एसोसिएसनले जनाएको छ ।

एसोसियसनका अध्यक्ष हरिबहादुर दर्लामीले दक्ष जनशक्ति विदेश पलायन न्यूनीकरण गर्नका लागि सरकारले सक्दो चाँडो न्यूनतम पारिश्रमिक तोकी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सरकारले न्यूनतम पारिश्रमिक नतोकेको र निजी क्षेत्रले श्रम शोषण गरेका कारण इन्जिनियरहरू विदेश पलायन भइरहेको उनको भनाइ छ ।

निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्न एसोसिएसनले माग गरेको छ । 

एसोसिएसनका अनुसार हाल देशभर करिब ८० हजार इञ्जिनियर छन्। तीमध्ये ७० प्रतिशतभन्दा बढी निजी क्षेत्रमा कार्यरत छन् ।

 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : २१ बजे