प्रधानमन्त्रीकाे खबरदारी- यसपटकको जहाज खरिदमा कुनै त्रुटि र विवाद नगर्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जहाज खरिद प्रक्रियामा पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आज (आइतबार) दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त छलफलमा बोल्दै प्रधानमन्त्रीले कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न निर्देशन दिए ।

प्रचण्डले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यस पटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ । यस पटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटी नहुन् ।’

उनले पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोच्न आग्रह समेत गरे । ‘हाम्रा कतिपय नीति नियमहरू पर्यटकमैत्री छैनन्, तिनीहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोचौं । त्यसैले तपाईहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौं । पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ । यसमा पनि सरकार लचिलो हुनुपर्छ ।’

प्रचण्डले नकरात्मक प्रवृत्ति बढेको बताउँदै लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोजेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने ‘दर्शक–स्रोता पनि नकारात्मक कुरा र गालीमा रमाउने जस्ता भएको छ । यसको प्रत्यक्ष फाइदा कुनै पृष्ठभूमि नभएका, योगदान नभएका, लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोज्दै छन् । यो कुरालाई हामीले बदल्नु पर्छ ।’

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ४ : ०१ बजे