साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

‘१० वर्षभित्र देशमा भोकमरी, गरिबी भन्ने कुरा हामी अन्त्य गर्दछौँ ‘

यहाँहरूले यस अभियानको अर्थ, मर्म बुझ्नु भएको छ भन्ने मलाई लाग्छ । आज देश राजनीतिक हिसाबले, सामाजिक हिसाबले, आर्थिक हिसाबले, सांस्कृतिक हिसाबले अनेक हिसाबले ओरालो लागिरहेको छ । नेकपा (एमाले) सरकारबाट हटाइपछिको अढाइ वर्षमा देशको राजनीति अस्थिरता, अन्योल र अराजकताको क्रमबाट गुज्रिरहेको छ । फेरि एक पटक अनेक प्रकारका साम्प्रदायिक नारा र प्रतिगामी उद्देश्यहरूका निम्ति अनुकूल अवस्था प्राप्त भयो । सरकारका अकर्मण्यता र असफलता, भ्रष्टता,  कमिशनखोरी र तस्करीले अनुकूल वातावरण बन्यो भन्ने ठानेर कतिपय प्रतिगामी शक्तिहरू टाउको उठाउन खोजिरहेका छन् । कतिपय देशको कुभलो चाहनेहरू, नेपाली जनता र देशको एकता देख्न नचाहनेहरू, समृद्धि, सुशासन मन नपराउनेहरू, देशमा शान्ति सुव्यवस्था भएको  देख्न नचाहनेहरू, नेपाललाई अनावश्यक ढङ्गले हिंसामा फसाउन खोज्नेहरू, नेपाली जनताका बीचमा वैमनश्यता, कलह, झगडा र द्वन्द्व मच्याउन खोज्ने तत्त्वहरू प्नि सक्रिय भएका छन् । उनीहरू  विभिन्न ढङ्गले आतङ्ककारी क्रियाकलापहरू गरिरहेका छन् ।

यस्तो अवस्थामा सत्तासिन गठबन्धन र गठबन्धनका नेताहरू सत्ता स्वार्थ, सरकार कसरी जोगाउने, कसरी मन्त्री हुने, कसरी मन्त्री टिकाउने, आफैँ मन्त्रीमा कसरी रहने, कसले बढी कमाउने, कसले आफ्नो मान्छे पोस्ने भन्ने धन्दामा लागिरहेका छन् । अर्थतन्त्र ओरालो लागेको छ । सेना, प्रहरी र कर्मचारीलाई तनखा खुवाउन सरकारले आन्तरिक ऋण उठाउनुपरेको छ । विकासको लहर एमालेको सरकारमा जुन चलेको थियो, त्यो रोकिएको छ, ठप्प भएको छ । महाकाली करिडोर हामीले सुरु गरेका थियौँ । आज त्यो अवरुद्ध स्थितिमा पुगेको छ । सेती करिडोर अवरुद्धको स्थितिमा पुगेको छ । अरू थुप्रै कामहरू जुन हामीले सुरु गरेका थियौँ, ती अवरोधको स्थितिमा पुगेका छन् । विकास निर्माणका कामहरू, ठेक्कापट्टाहरू रद्द भएका छन् वा धिमा गतिमा छन् । ठेकदारले गरेको कामका लागि पनि सरकारले पैसा भुक्तानी दिन सकेको छैन । त्यस कारणले ठेक्का रद्द भएका छन् वा स्थगित भएका छन् । कर्मचारीलाई तनखा खुवाउन गाह्रो पर्ने अवस्था सिर्जना भइसकेको होइन कि गाह्रो परेर यो सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तनखा खुवाउनु परेको छ । उद्योगहरू नयाँ खोल्ने होइन कि बन्द हुँदै गएका छन् । कृषिको आधुनिकीकरणको काम जुन हामीले अगाडि बढाएका थियौँ, त्यो ठप्प छ । यस कारण यस देशलाई अब बढी बरबाद हुन नदिन,  यस मौकालाई छोपेर देशमा हिंसा मच्चाउन, द्वन्द्व मच्चाउन उद्दत भएका तत्त्वहरूलाई अगाडि बढ्न नदिन, १५ वर्ष पहिले मरेको राजतन्त्रको चिहान खनेर ल्याउँछु भनेर कुदेका भुतप्रेतवादी प्रतिगामी तत्त्वहरूलाई जवाफ दिन, देश पछाडि फर्कन सक्दैन, अगाडि बढ्छ, जनताको सार्वभौमसत्ता व्यक्ति र परिवारमा केन्द्रित हुन सक्दैन भनी सन्देश दिन नेपाली जनता सजग रहनु पर्दछ र अगाडि बढ्नुपर्दछ ।

देशलाई अगाडि बढाउनु पर्दछ भनेर अहिले नेकपा (एमाले)ले महाकाली किनारको भुलाघाटबाट मेचीको शिरभन्दा माथि सिक्किमसँग हाम्रो सिमाना जोडिएको चिवाभञ्ज्याङ  डाँडासम्म हामीले तीन हप्ताको यात्रा तय गरेका छौँ । यो यात्रा किन ? यस कारण कि जनताका समस्या के छन् ? बुझ्न, जनतासँग संवाद गर्न, स्थानीय तवरमा साथीहरूसँग बुझ्न, भेट्न । सञ्चारकर्मी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, विद्यार्थी, किसान, मजदुरहरूसँग भेट्न र बुझ्न । हाम्रा ऐतिहासिक धरोहरहरू, मठमन्दिरहरू, हाम्रा आस्थाका धरोहरहरूको अवस्था के छ ? त्यो हेर्न हो । कुन ठाउँको अवस्था के छ ? कहाँ विकासका कस्ता सम्भावनाहरू छन्, ती कुराहरू ठम्याउनका लागि र स्थलगत रूपमा जनतासम्म पुगेर जनताका मागहरू बुझ्न, सङ्कलन गर्न र तिनलाई कसरी सम्बोधन गर्न सकिन्छ ? त्यसका निम्ति गहिरो अध्ययन, छलफल र छानबिन गर्नका निम्ति हामीले यो अभियान सञ्चालन गरेका छौँ ।

आज यस ठाउँ (अमरगढी)मा आइपुग्दा हामीले यहाँहरूका मागहरू सुन्यौँ । अहिले भर्खरै माननीय प्रदेश सभा सदस्यले विषयहरू राख्नु भएको छ, कुराहरू राख्नु भएको छ । ती सबै कुरालाई अहिले म दोहोर्‍याउन चाहन्नँ । महाकाली करिडोर, सेती करिडोर, महाकाली बहुउद्देश्यीय आयोजना लगायतका आयोजना, यहाँका शिक्षा, स्वास्थ्य र अरू विकास निर्माणका समस्या, यहाँका विद्यालय भवन, पूर्वाधार विकास, शिक्षक दरबन्दी लगायतका समस्याहरू हामीले सुनेका छौँ । हामी त्यसको समाधानका लागि आवश्यक कदम चाल्ने छौँ ।

हामीले अहिले मिसन ०८४ भनेका छौँ । तर, मिसन ०८४ सम्म यस्तै सरकार कथंकदाचित टिक्यो भने देशलाई समाल्नै नसक्ने गरी बरबादीमा पुर्‍याएर चल्ने छ । यो सरकार कुनै समय आफैँ ढल्न सक्छ । यसलाई कसैले ढाल्नु पर्दैन । सरकार हल्लिराखेको छ, चर्याकमर्याक भइराखेको छ । यो कुनै खुट्टा भएकै सरकार होइन । यो त गठबन्धनका छेस्काहरू अड्याएर टिकाएको हो । यसको कुनै सिद्धान्त, नीति, योजना, कार्यक्रम नै छैन । अहिले मोटामोटीमा भन्ने हो भने यो सरकार माओवादीका अध्यक्ष प्रचण्डका नीतिमा हिँड्न खोजेको छ तर सकिराखेको छैन । नेपाली काँग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिराखेको छ । आफ्नै मान्छेलाई मुद्दा लागेको छ, थुन्दिएको छ, हो होइन अदालतले भन्ला । तर, माओवादीका मान्छेहरू, माओवादीका नेताहरू २९४ पटक तस्करहरूसँग संवाद गरेको देखिन्छ तर पक्राउ पर्दैनन् । अर्को तस्करीमा तस्करहरूसँग ३५ पटक संवाद गरेको देखिन्छ, पक्राउ पर्दैनन् । साढे नौ केजी सुन दुई केजीमा झर्छ त्यही पनि मतलब छैन । पटक पटक गरी तस्करीको बाटोबाट ३५ सय केजी सुन नेपाल आइसकेछ, बल्ल एक क्विन्टल पक्राउ पर्‍यो । त्यो पनि कारबाही चलाउने बेलामा ६० केजीमा झर्‍यो । पक्राउ परेका अपराधीहरूलाई राजश्व अनुसन्धान कार्यालयमा पुर्‍याएर परेका बेला हाजिर हुन्छु भनेर सरकारले छोड्छ । छिटो मान्छे भगाउ, सामान लुकाऊ, छिटो गर, गइहाल भनेर पठाउँछ । 

एउटा मेडिकल कलेजको सञ्चालक, एउटा जननिर्वाचित सांसदको सर्टिफिकेट सक्कली हो कि नक्कली हो म जान्दिनँ तर सरकारलाई नक्कली हो कि भन्ने शङ्का लाग्यो । शङ्का लाग्ने बित्तिकै तत्काल हत्कडी लगाएर बाटैबाट समातेर थुन्न लान्छ । क्विन्टल सुनमा पक्राउ परेकाहरूलाई थपक्क छोड्छ । यो कस्तो सरकार हो ? यो सरकार भ्रष्टाचारीहरूको संरक्षकको रूपमा छ, आफैँ भ्रष्टाचारमा कति छ ? पछि थाहा हुँदै जाला अहिले म धेरै नभनौँ । तर सरकारका वरिपरिका, नजिकका मान्छेहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । त्यो देखिइसक्यो । 

अनि सत्ताधारीहरूको प्रचार अभियान एमालेका विरुद्ध छ । केपी ओलीका विरुद्ध, एमालेका विभिन्न नेताहरूका विरुद्ध भ्रष्टाचारका विभिन्न नचाहिने कुराहरू उछालेर, हुँदै नभएका कुराहरू गरेर, सुन भनेर पित्तल चढायो भनेको छ, के भनेको छ, बहुलठ्ठीपूर्ण कुराहरू गरेर जनतालाई अलमल्याउने कोसिस गरिराखेका छन् । म तपाईँहरूलाई भन्न चाहन्छु, नेकपा (एमाले) देश बनाउने सङ्कल्प बोकेर, हाम्रा वीर शहीदहरूको शपथ लिएर अभियानमा सङ्कल्प बोकेर हिँडेको पार्टी हो । सुन तस्करी, कमिशनखोरी, भ्रष्टाचारी यस्ता कामहरूमा एमाले लाग्दैन । देश बनाउने काममा लाग्छ । 

तीन वर्ष एमालेको सरकार हुँदा तपाईँहरूले देख्नु भएको थियो, विकासको लहर कसरी सुरु भएको थियो । म अहिले त्यतापट्टि धेरै जान चाहन्नँ । सिलगढीमा अर्को आमसभामा पुग्नुपर्ने छ । त्यस कारण धेरै कुराहरू भनिरहन चाहन्नँ । तपाईँहरूले यहाँ उठाउनु भएका मागहरू, तपाईँहरूले गराउनु भएका ध्यानाकर्षणहरू यी कुराहरूतर्फ मेरो ध्यान गएको छ र पार्टीको ध्यान गएको छ । हाम्रो पार्टीको नेतृत्वका सबै साथीहरू यहाँ आउनु भएको छ । उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटीका सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय कमिटीका सदस्यहरू समेत तपाईँहरूका मागहरू बुझ्न, तपाईँहरूसँग अन्तर्क्रिया गर्न, तपाईँहरूसँग संवाद गर्न, तपाईँहरूको सुख दुःख बुझ्न र त्यसको समाधान कसरी गर्न सकिन्छ, त्यसका लागि हाम्रो सिङ्गो टिम हिँडिरहेको छ । म यहाँहरूलाई भन्न चाहन्छु– तसर्थ तपाईँहरू ढुक्क हुनुहोस् नेकपा (एमाले)ले देशलाई प्रतिगमनतर्फ जान दिँदैन । लोकतान्त्रिक गणतन्त्रको रक्षा नेकपा (एमाले)ले गर्छ, तपाईँहरू ढुक्क हुनुहोस् त्यसको नेतृत्व एमालेले गर्छ । तर, हामी सबै सचेत भएर अगाडि बढ्नुपर्दछ । 

वर्तमान गठबन्धन सरकारको असफलताका कारण देश बरबादीतर्फ ओरालो लागिरहेको छ । यदि ०८४ को चुनावमा पनि नेकपा (एमाले)ले एकल बहुमत ल्याएन भने देश रहन्छ कि रहँदैन ? भन्ने चिन्ता एमालेलाई छ ।  त्यस कारण ०८४ को निर्वाचनमा नेकपा (एमाले)को नेतृत्वमा सरकार हुनुपर्छ, नेकपा (एमाले)को एकल बहुमतको सरकार हुनुपर्छ । त्यसमा हामीले अरू देशभक्त शक्तिहरूलाई पनि सामेल गर्न सक्छौँ तर नेकपा (एमाले)को बहुमत चाहिँ हुनुपर्दछ । त्यसो गर्दा एमालेको नीतिमा देश चल्छ र म भन्न चाहन्छु– १० वर्षभित्र हामी यस देशमा भोकमरी, गरिबी भन्ने कुरा हामी अन्त्य गर्दछौँ । १० वर्षभित्र यस देशबाट हामी बेरोजगारी जस्ता कुराहरूलाई अन्त्य गर्दछौँ । गरिबको अवस्थाबाट यस देशलाई माथि उठाउँछौँ । तसर्थ हामी सबै एकजुट हुनुपर्दछ । 

म आग्रह गर्न चाहन्छु, अनेक प्रकारका क्षेत्रीयतावादी, जातीयतावादी, धर्मका नाममा, अनेक नाममा मानिसहरूले भड्काएर हाम्रा बीचको एकता, जनताका बीचको एकता खलबल्याउन खोज्छन् । हामी जनता एकजुट भएर हाम्रो देशको रक्षा, हाम्रो देशको सार्वभौमसत्ताको रक्षा, हाम्रो देशको स्वाधीनताको रक्षा, हाम्रो देशको भूमिको रक्षा, हाम्रो देशको स्वतन्त्रता, हाम्रो देशको भूमिको रक्षा हामीले एकताबद्ध भएर गर्न सक्नु पर्दछ । हाम्रो देशमा सुशासन र विकास हामीले ल्याउनु पर्दछ । हाम्रो देशमा अनुशासित लोकतन्त्र, नमुना लोकतन्त्र हामीले स्थापना गर्नु पर्दछ । त्यस कामका लागि एमाले अगाडि बढेको छ । आम नेपाली जनतालाई नेतृत्व गर्न एमाले सक्षम छ । सबैको साथ सहयोगको अपेक्षा नेकपा (एमाले) गर्दछ । यस अभियानको आज दोस्रो दिन मात्रै रहेको छ । हिजो र  आज हामीले आम जनताको जस्तो उत्साह पायौँ, सहभागिता पायौँ र यहाँहरूले जसरी समर्थन जनाउनु भएको छ, यसमा हौसला प्रदान गर्नु भएको छ । यसमा निम्ति म फेरि पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु । आफ्ना योगदानहरूबाट आज जो साथीहरू सम्मानित हुनुभएको छ, उहाँहरूलाई धेरै धेरै बधाई भन्न चाहन्छु र उज्ज्वल भविष्यका लागि शुभकामना भन्न चाहन्छु ।

अत्यन्तै सुन्दर सै पनि एमाले मै पनि एमाले, देशै एमाले, म त यसै एमाले, उसै एमाले जस्तो गीत गाएर धूमधामसँग नाँच्नु भयो । त्यसका निम्ति भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद छ । डडेलधुरा क्षेत्र कला संस्कृतिमा अगाडि छ । यहाँका गानाहरू, यहाँका नृत्यहरू, यहाँका संस्कृतिहरूसँग नेपाल भर्खर परिचित हुँदैछ र अत्यन्तै आकर्षण बढेको छ । यो भूभाग, यो थलो सांस्कृतिक हिसाबले अत्यन्तै विविधताले सम्पन्न छ, समृद्ध छ । यहाँको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा यसलाई अब हामीले सही सदुपयोग गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ । यस काममा हामी सबैको योगदान रहोस् । यही आग्रह गर्दै यहाँहरू सबैमा धेरै धेरै शुभकामना भन्दै आफ्नो भनाई टुङ्ग्याउँछु  । धन्यवाद !

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को दोस्रो दिन २०८० मङ्सिर १५ गते डडेलधुराको अमरगढीमा आयोजित सन्देश सभामा गर्नुभएको सम्बोधनको सम्पादित पूर्णपाठः

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : १९ बजे