नेकपा एमालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धि सङ्कल्प यात्रा औपचारिक रुपमा समापन भएको छ । यसलाई विभिन्न व्यक्तिहरूले सकार र नकार कोणबाट चर्चा गरेको देखिन्छ तर चर्चाहरुमा समृद्धि सङ्कल्प यात्राको समग्रता स्पष्ट भएको छैन । यात्राको अन्तर्य बोधमै समस्या रहेको कि भन्ने देखियो ।
यो यात्रा जबजमा स्थानीय र क्षेत्रीय विकास शीर्षकमा उल्लिखित देशको समग्र सन्तुलित विकास अवधारणाको अन्तर्वस्तुमा आधारित रहेको देखिन्छ । त्यसैगरी यात्रामा गगन चुम्बी नेपाली राष्ट्रिय झण्डा फराउनुको अर्थ र अन्तर्य राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतासित सम्बन्धित छ र विविधताका बीच एकताजस्ता बहुविध संवेदनशील विषय समाविष्ट रहेको छ भने अर्कातिर एमाले र यसको नेतृत्वलाई आकास छुने झण्डाजस्तै योग्यतम नेतृत्व क्षमता आर्जन गर्नु पर्ने बिम्ब अभिलक्षित छ । अब एमाले र यसको नेतृत्वले अयोग्यतम सित तुलना गरेर आफूलाई योग्य र असल छु भनेर दाबी गर्न सुहाउँदैन । जबजअनुसार व्यवहारबाट आफूलाई योग्यतम साबित गर्नुपर्छ ।
देश अग्लो, सग्लो र उच्च हुन र बन्न अग्लो राजनीतिक र राजकीय नेतृत्व अपरिहार्य हुन्छ । पार्टी अध्यक्ष ओलीले एक प्रसंगमा देवकोटाको कवितांश उल्लेख गर्दै दर्शन किन्तु कहीँ दिँदैन, चर्म चक्षुले कानामा भनेझैँ हामी कुनै पनि विषय वस्तुलाई कति गहिराइमा बुझ्छौँ, त्यसमा निर्भर गर्छ । अर्थ बोधको तीन तह वा लियर हुन्छ । तर चुरो बोध गर्न विहङ्गम दृष्टिचेत चाहिन्छ । बोक्रा र पलाँस अर्थ बोध सहज नै हुन्छ । ओलीले नै एक संस्कृत श्लोकको उदाहरण दिएर भन्नु भएझैँ जोसित तीक्ष्ण, तीव्र र शीघ्र सिर्जनात्मक मति वा ज्ञान नै छैन भने त्यसलाई कुनै पनि शास्त्रले केही दिन सक्रैन । अर्थत् यस्य नास्ति स्थित प्रज्ञा तस्य शास्त्र करोति किम् । यसका लागि बेलैमा मति, बुद्धि र ज्ञान बृद्धिको बाटो खोल्नुपर्छ । जननेता मदन भण्डारी पार्टी नेतृत्वको जति माथिल्लो तहमा पुग्नु हुन्थ्यो उति अध्ययन चिन्तन र लेखन कर्मलाई विकसित गर्न प्रयत्न गर्नुहुन्थ्यो । अझ भण्डारीले बाल्य र युवावयदेखि नै सिर्जनात्मक र रचनात्मक विषयमा गम्भीर चाख राख्नु भयो र उहाँमा बहुविध प्रतिभाको प्रस्फुटन हुन सकेको हो । यस्तै प्रत्युत्पन्न बहुआयामिक मति र ज्ञान दिलाउन भण्डारीले नेता कार्यकर्ताहरुलाई भूमिगत बैठकपछि कविता लेख्न लगाउनु भएको थियो । कम्तीमा नेता र कार्यकर्ता ठूलै कवि नभए पनि बौद्धिक, सिर्जनात्मक, प्रबुद्ध श्रोता र पाठक हुन् भन्ने उहाँको चाहना बुझ्ने अहिले कोही होलान् ? भण्डारी युवावयमा नै प्रभावशाली नेतामा दस विशेषता हुनुपर्छ भन्नु हुन्थ्यो । उपल्ला तहका नेतामा दस होइन तीन विशेषता मात्र भए पनि देशले काँचुली फेर्ने सम्भावना स्पष्ट देखिन्छ । यस्तो बानी माथिबाटै सुरु भए तलतल त्यसको सकारात्मक प्रभाव पथ्र्यो । अनि न मदनले भनेझैँ पार्टी प्रतिभाको फूूलबारी बन्छ ? अहिले त परोक्ष रुपमा पार्टी र सिद्धान्त प्रतिबद्ध नेता,कार्यकर्ता, कवि, लेखक, स्रष्टा र बुद्धिजीवीलाई ठाउँ कुठाउँ काँडाले घोचिरहन्छ । तर अचम्म लाग्छ,घोच्दा र झटाराले हान्दा पनि रस नै चुहुँदो रहेछ । नमस्ते र स्वस्ती नगरुन्जेल पहिले देखे चिने पनि नचिनेजस्तो गर्ने नेता देख्दा उदेक लाग्छ ।
मिथिला पोखरेल र म एकदिन अघि नै तेह्रथ्ुम जिल्लास्थित लाली गुराँस नगर पालिकामा त्यहाँको वस्तुस्थिति बुझ्न पुगेका थियौँ । नभन्दै त्यहाँको पार्टी भित्रका सकार र गम्भीर खालको नकार बुझ्यौँ । त्यहाँ आफूलाई कोशी पार्टी प्रदेशका स्वयं घोषित प्रवक्ता भन्ने नेताबाट अधिकांश नेता र कार्यकर्ता पीडित भएको थाहा पायौँ । समग्र र सूक्ष्म रुपमा अवलोकन गरिएन भने उपचार सम्भव हुन्छ । समयमै सच्याउन र सच्चिन सकिन्छ । राजसा महासङ्घ,सुनसरीको यात्राको महत्व उजार गर्ने प्रकाशित वक्तव्य सभामा वितरण गरिएको थियो । अध्यक्ष विद्या घिमिरे कार्की र सचिव ऋचा काफ्लेद्वारा हस्ताक्षरित वक्तव्यमा एमालेले देश र जनताका हितमा काम गर्छ भनेर नै बारबार सरकारमा जान नदिन र गए अनेक षडयन्त्र गरेर हटाएको सटिक विषय उल्लेखित थियो ।
पार्टी,विभाग,निकाय र मोर्चा संगठन लगायत सबै संगठनहरु देश र जनताका हितमा सिर्जनात्मक रुपमा अलिअलि भए पनि चलायमान हुन र गर्न सक्ता पार्टी सबल नबन्ने कुनै कारण नै छैन ।
नेता र कार्यकर्ताको सही रुपमा परख गरेर मात्र उचित जिम्मेवारी प्रदान गर्ने कुरालाई राम्ररी ख्याल नगरेसम्म पार्टीमा थिति बस्दैन । हाम्रोलाई होइन राम्रोलाई उचित जिम्मवारी दिनुपर्छ । जनआधार नभएका र अत्यन्त कमजोरलाई पार्टी र संसदीय फाँटको जिम्मेदारी दिइयो भने हालत कहिल्यै सप्रिँदैन । अहिलेको पातलो जनलहर पनि तितरबितर हुनसक्छ । यस यात्रालाई विदेशबाट पनि चासो पूर्वक हेरिएको देखिन्छ । सुनसरीका एमाले नेता रामप्रसाद चौलागाईँले अस्ट्रेलियादेखि चासो राख्दै नेता र कार्यकर्ताका त यात्रामा आउने नै भए तर तिनका नसनाता र परिचित अनुहारहरुलाई सरिक गराउन पहल गर्दा अझ जाती हुन्थ्यो भन्ने कुरा गरेका थिए ।
यस यात्रामा देखिएको जनलहर सहिदहरुको त्याग, तपस्या र बलिदानका कारण हो र मूलतः जननेता मदन भण्डारी, प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको नौमहिने लोकप्रिय सरकार र ओलीको प्रभावशाली नेतृत्व र उहाँले नेतृत्व गरेको जनसेबी तथा जनप्रिय सरकारका कामको परिणाम हो । स्वतः स्फूर्त रुपमा जनता र कार्यकर्ता यात्रामा सहभागी थिए भने ओलीसित भेट्न आतुर जनता सडकमा लामबद्ध थिए । जहाँ जहाँ ओलीले विभिन्न वर्ग, क्षेत्र, विषय, विधा, धर्म संस्कृति र समुदायका व्यक्तित्वहरुसित सम्बाद गर्नु भयो, ती सब ओलीको सत्यतथ्य र बहुआयामिक विकास निर्माणका प्रभावशाली सोँचबाट अत्यन्त प्रभावित भए । तिनले आजीवन ओली व्यक्तित्वलाई बिर्सनै छैनन् । यस खालको चुम्कीय क्षमताका कारण नै नेता जननेता, जननायक र राजनेता हुन्छन् । यसमा आलोचना गर्ने पक्ष होलान् तर यात्रामा ओली क्रेज जहीँ त्यहीँ व्याप्त देखियो ।
एमाले विरुद्ध गोयबल्स शैलीको दुष्प्रचारका कुप्रभावमा नराम्ररी परेको नेता र कार्यकर्ताहरु भेटिए । विशेषतः दुईदुई संसद् विघटन गरेका विषयमा गरिएका प्रश्नहरुको सटिक जवाफ मैले दिएपछि यति कुरा पनि बुझाइदिने नेताको अभाव रहेको तिनले बताए । एमाले नेतृत्वको कोशी प्रदेश सरकार प्रमुखका अहंवादी सोच ग्रसित स्थितिको जानकारी पनि त्यहीँ पाइयो ।यात्रामा सरिक मृदु मुस्कान सहितका केही नेताको जनमैत्री भावले सहभागी प्रफुल्लित देखिन्थे । पाखा पहरामा जहाँ फुले पनि त्यस फूलले सुगन्ध र सुवास छर्दो रहेछ ।
यो यात्रा एउटा इतिहासको घडी र कडी हो भन्ने कुरा भविष्यले अझ उजागर गर्नेछ । घरको जग खोस्रनेहरु ढिलोछिटो जनताबाट तिरस्कृत हुन्छन् तर त्यस्ता माक्ुने प्रवृत्ति नयाँ अवतार र आवरणमा उत्पादन भइरहन्छन् । तिनलाई समूल नष्ट गर्न सकिन्न र हुन्न पनि तर सम्मानपूर्वक त्यसलाई ठेगानमा राख्नुपर्छ । माक्र्सवादी द्वन्द्ववादले यही कुरा भन्छ । गौरवशाली इतिहास कसैगरी बचाउनुपर्छ, सत्य स्थापित गर्नुपर्छ । दूरदृष्टि भएका इमान्दारहरु देश र समाजका अविस्मरणीय व्यक्तित्व बन्छन् । ओलीले नै भनेझैँ पद त अस्थायी कुरा हो । पदमा भए नभए पनि देश र जनताको प्राण र प्रतिष्ठा गर्नेहरु सदासर्वदा बन्दनीय हुन्छन् । आफ्नै पनि भूमिका र क्षमता बोध नगर्नेहरु बीचमै बिलाएर जान्छन् । नेकपा संस्थापक सदस्यहरु मध्ये पुष्पलाल मात्रै किन आन्दोलनको मेरुदण्ड र शिखर पुरुष हुनुभयो ? कम्तीमा हामीले इतिहास निर्माणका साथी र साक्षी हुनसक्नुपर्छ । सकारभित्र नकार र नकारभित्र सकार हुन्छ भन्ने देखिएन आफैँलाई पुर्ने नजिकको खाल्टो देखिन्न । कुनै विषयको मापनका त्रिआयाम अर्थात् लम्बाइ,चौडाइ र गहिराइ हुन्छन् । अझ माक्र्सवादीहरु वस्तुनिष्ठ मूल्याङ्कनका लागि अंश र समग्रको वास्तविक कसीलाई आधार मान्छन् । एकलकाँटे सोच राखेर अघि बढ्न सकिन्न । कथित पहिचानवादीका आवरणमा केही एमाले कार्यकर्ता संलग्न भएको स्थानीय प्रशासनबाट अवगत भयो । माओवादीबाट रोपण संरक्षण र संबर्धन गरेको कथित पहिचानको कुप्रभाव खस आर्य समाज र जातिमा पनि केही परेकै छ । अझ आदिवासी जनजाति जस्ता समुदाय यसको सिकार बनाइएका छन् । यो अति संकीर्ण सोच नेपाललाई विखण्डन गर्न गरिएको हो । यसका एक योजनाकार वर्तमान प्रधानमन्त्री नै हुन् । उनैले आफैँले पारित कोशी नामकरण विरुद्ध वितण्डा मच्चाएका ह्ुन् । एमाले कोसी प्रदेशको प्रथम अधिवेशनमा एमाले तर नश्लीय पहिचानका अभियन्ताहरु भेटिएका थिए । पार्टी भित्रका चरम रुपमा भ्रमित नेता कार्यर्तांसित गम्भीर वार्ता र छलफल गरेर सच्याउन सच्चिने अवस्थालाई नेतृत्वले पटक्क ख्याल नगरेको देख्दा अचम्म लाग्छ । गुरुले नपढाए पछि विद्यार्थी कसरी ज्ञानी हुन्छ ? शिक्षकले आफ्नो भूमिका बिर्सिएपछि पार्टी पाठशाला क्षतिग्रस्त हुनु स्वाभाविक छ ।
मध्य पहाडी क्षेत्र कृषि,पर्यटन,फलफूल,तरकारी वनजंगल,वन्य सम्पदा,जडिबुटी,खानी, जल स्रोत आदि दृष्टिकोणले सम्पन्न रहेको छ । चीनले बाँस उद्योगबाट केही प्रतिशत आर्थिक बृद्धि हासिल गरेको छ । उसले बाँसको पातबाट उच्च कोटिको बियर मदिरा निर्माण गरेको छ । चीन एमालेका लागि महान् शिक्षाको विषय हो । चिनियाँ राष्ट्रपति सिजिङ पिनले झैँ धनदौलत कमाउन अपहत्ते गर्नेलाई कम्तीमा पार्टीको ओहदा अनुपयुक्त हुन्छ भन्ने कुरामा बेलैमा ध्यान दिनु पर्छ । अतिद्रव्य मोह गर्नेका सन्तान आफ्नै हातमा सुइ खोप्ने डाक्टर हुन्छन् भन्ने कुरा जगजाहेर छ । चीनको विकासका उदाहरण हेर्दा पनि हाम्रा डाडाकाँडा, वन, चउर आदि क्षेत्रलाई उत्पादन भण्डार बनाउन सकिन्छ । अध्यक्ष ओलीले कृषिजन्य उत्पादन धान ,मकै ,र फलफूल तरकारी आदि उत्पादन कर्ममा क्रियाशील श्रमजीवी जनताको प्रशंसा गर्नु भयो । हुन पनि म आफैँ उक्त क्षेत्रमा घुम्दा जनताको श्रमकर्मका कारण हराभरा भएको क्षेत्र देखेर भावुक भएको थिएँ । यस्ता काममा विभिन्न तहका सरकारहरुको उत्प्रेरणदायी भूमिका भए ती क्षेत्रहरु अझ प्रोत्साहित हुने थिए । सरसहयोग र उत्प्रेरणाका सबै बान्की प्रयोग गर्ने हो भने यो देश कहिल्यै कुनै पनि क्षेत्रमा गरीव हुँदैन । आँखा कान,मन, र ध्यान सम्म नदिने अधिकांशनेतत्वका कारण हरेक क्षेत्रका सर्जकहरु निरुत्साहित छन् । पाखैभरि हेरी हेरी बेल,सजिवन,केरा,बाँस आदिको खेती गर्ने कुरामा एकजनाले अगुवाइ गर्ने हो भने मात्र पनि देखासिकी गरि खा हुने थियो । त्यसैले झुलाघाट चिवा भञ्ज्याङ समृद्धि सङ्कल्प यात्रा बहुआयामिक अर्थ आशय र सन्दर्भको ऐतिहासिक यात्रा हो ।
उपरितहबाट हेर्दा यो राजनीतिक यात्रा त हुँदै हो र यस क्रममा एमाले पार्टीलाई जनमत र जनसमर्थनका दृष्टिले व्यापक र सुदृढ बनाएमात्र जनताको सरकार बन्छ र टिक्छ भन्नु पनि हो । यो कुरा जनताबाट परीक्षित भइसकेको विषय पनि हो । अझै एमालेभित्रै भुईँ तहमा सबै पार्टी र नेता उस्तै हुन् भन्ने भ्रम बाँकी रहेको देखिन्छ । यसलाई देश र जनताका हितमा परेका राम्रा कामहरुको उपयुक्त चर्चा विभिन्न माध्यमबाट व्यापक गर्नु पर्छ र यस थुकी नदी बनाउन प्रयत्न गर्नुपर्छ । यसका लागि सबै नेता कार्यकर्ता प्रचारक बन्नुपर्छ ।
प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार १ : ४८ बजे
प्रतिक्रिया