नेपाल एयरलाइन्सको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि 

काठमाडौँ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । 

महालेखापरीक्षकको लेखा परीक्षण प्रतिवेदन अनुसार निगमको कूल आम्दानी आव २०७७÷७८ मा नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो ।

आव २०७८÷७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९÷८० को प्रारम्भिक कूल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । 

निगमले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ । विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा रहेका छन् । 

निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै हालको बजार मागअनुरूप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्य योजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : १८ बजे