‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

काठमाडौँमा पानी माग्दै नेविसंघको नारा : मेलम्चीको पानी, हामीले कहिले खाने ?

काठमाडौँ ।   नेपाल विद्यार्थी संघले  मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्धमा  काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलब्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौँ जिल्ला कार्यसमितिले काठमाडौँमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले‘मेलम्चीको पानी, हामीले कहिले खाने ? मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गरलगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

नेविसंघ काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा वितरण हुन नसकेको बताए ।

उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खवरदारी गर्ने उदेश्यले प्रदर्शन गरिएको जिकिर गरे ।
नेविसंघले मेलम्ची खानेपानीमा अब पनि ढिलाई भए थप आन्दोलन गर्ने चेतावनी  दिएको छ । 

उता मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुने दाबी गरेको छ। 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा  आउने बताएका छन्। मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौं उपत्यकामा वितरण गर्ने उनले उल्लेख गरेका छन्। 

पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको उल्लेख छ। बाढी–पहिरोले आयोजनामा क्षति पुगेको भन्दै गएको असार ८ गतेदेखि आयोजनाले काठमाडौं उपत्यकामा पानी वितरण रोकेको थियो। 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  २ : १७ बजे