भिजिट भिसामा मानव तस्करी : पाँच एअरलाइन्सको संलग्नता देखिएको प्रहरीकाे दाबी

काठमाडौं । नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा पाँच वटा एअरलाइन्सको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानमा क्रममा पाँच वटा एअर लाइन्सको संलग्नता खुलेको हो । 

अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार अहिलेसम्म नेपाल एअरलाइन्स, एअर अरेबिया, फ्लाई दुबई, हिमालय एअर र अल जजिरामार्फत् सेटिङमा भिजिट भिसामातर्फ मानव तस्करी हुने गरेको खुलेपछि  थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

भिजिट भिसामा जानका लागि दुबैतर्फको टिकट अनिवार्य हुनुपर्ने व्यवस्था छ। जसकारण नेपाल फिर्ता हुने टिकट नकाटी एअरलाइन्सको सेटिङमा नक्कली टिकट बनाएर नेपाली युवा–युवतीलाई विभिन्न मुलुक पुर्‍याइएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

नेपाल फिर्ता हुने नक्कली टिकटको आधारमा नेपाली युवा–युवतीलाई भिजिट भिसामा विभिन्नु मुलुक पुर्‍याएवापत एअरलाइन्सहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

नक्कली डकुमेन्टमा सेटिङ मिलाएर भिजिट भिसामा मान्छे पठाएको आरोपमा यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जना नेपाल वायु सेवा निगमका कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका वायुसेवा निगमका वरिष्ठ सहायक अरविन्द्र यादव, नेपाल एयरलाइन्सकै छैटौं तहमा कार्यरत कर्मचारी होम पोखरेल निलम्बनमा परेका छन्।
 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ४० बजे