पशुलाई लम्पीस्किन विरुद्धको खोप लगाउने सरकारको तयारी

काठमाडौं । पछिल्ला दुई वर्षमा देशभरका ६५ हजार गाईवस्तुको ज्यान लिएको लम्पी स्किन रोगको सम्भावित प्रकोपबाट जोगाउन सरकारले सो रोग विरुद्धको खोप झिकाउने प्रक्रिया अघि बढाएको छ ।

यसका साथै सरकारले स्वदेशमै सो खोप उत्पादन गर्न सकिने सम्भावनाबारे पनि छलफल थालेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडलले लम्पीस्किन रोग फैलिन नदिन पूर्वसतर्कता अपनाइएको जानकारी दिए । ११ लाख डोज खोप आयातका लागि टेन्डर आहृवान भइसकेको र आउँदो फागुनबाट गाईभैंसीमा लगाउन सुरु गरिने सचिव पौडेलले जानकारी दिए । यसका साथै मन्त्रालयले नेपालमै खोप उत्पादनका लागि विदेशी विशेषज्ञसँग परामर्शसमेत थालेको छ ।

लम्पीस्किन रोगका कारण पछिल्लो दुई वर्षमा ६५ हजारभन्दा बढी गाईवस्तु मर्दा दूध उत्पादन घटनुका साथै किसानलाई खेत जोत्न गोरुको समेत अभाव सिर्जना भएको थियो ।

लम्पीस्किन रोगका कारण साना तथा सीमान्तकृत किसानले एक खर्बभन्दा धेरैको क्षति बेहोरे पनि सरकारले अहिलेसम्म राहत दिएको छैन । प्रधानमन्त्रीको निर्देशनपछि कृषि मन्त्रालयले पठाएको राहतको प्रस्ताव अर्थ मन्त्रालयमा गएर अड्किएको छ । किसानका संघ-संगठनले छिटो राहतका लागि दबाब दिए पनि सरकारी संयन्त्रले बेवास्ता गर्दै आएको छ । प्रकाेप फैलिएकाे बेलामा मुकदर्शक बनेकाे सरकारले यत्तीखेर खाेपकाे तयारी गरेसँगै कतै याे कमिशनकाे चक्कर त हैन आम चासाेकाे विषय बनिरहेकाे छ । 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ४८ बजे