झापाको हल्दिबारीमा भेटिए पुरातात्त्विक इँटा

झापा । झापाको हाल्दिबारी गाउँपालिका–४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्त्विक इँटा फेला परेको छ । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् ।

हाल्दिबारी ४ की मञ्जु बरालले आफ्नै बारीमा घ्याम्पो आकारको इनार र गाई, कुखुरा र मान्छेका पाइला अङ्कित अनौठा चारपाटे इँटा भेटिएको बताउनुभयो ।

च्याङ्ग्राबन्ध गाउँमा विराट राजाको दरबारको भग्नावशेष हुनसक्ने स्थानीयवासीको अनुमान छ । 

दक्षिण झापामा किच्चकबधस्थल र विराटनगरमा विराट राजाको दरबार रहेको पहिचान भइसकेकाले मध्यभागमा पर्ने यो स्थान विराट राज्यकालीन हुनसक्ने हाल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले बताउनुभयो । 

उहाँले सो गाउँमा विसं २०४२ देखि नै पुराना इँटा र भाँडाकुँडा भेटिएको जनाउँदै पुरातत्त्व विभाग र इतिहासका अन्वेषकहरूले चासो राख्नुपर्ने बताउनुभयो । उहाँका अनुसार किच्चकबध क्षेत्र नजिकै भएकाले ती सामग्री र भग्नावशेष विराट राज्यकालीन हुनसक्ने सम्भावना छ ।

हाल्दिबारी गाउँपालिकाका गुनासो सुन्ने अधिकारी राजन न्यौपानेले पुराना भाँडाकुँडा र इँटा भेटिएको भन्ने सुन्नमा आएको बताउनुभयो । ती सामान कति ऐतिहासिक छन् भनेर अनुसन्धानको खाँचो रहेको उहाँले बताउनुभयो ।

स्थानीयवासीका अनुसार यहाँ राणाकालदेखि नै एक जना सेनाका जर्नेलले हुकुम प्रमाङ्गीबाट २० बिघा जग्गा पाएका थिए । स्थानीयवासीले सोही कारण गाउँलाई जर्नेल कामत पनि भन्ने गरिएको बताएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : ०८ बजे