प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाई सकियो, निर्णय बुधबार सुनाइने

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको संसदीय सुनुवाई  सकिएको छ।

सिंहदरबारमा सोमबार बसेको संसदीय समितप्को बैठकले प्रस्तावित न्यायाधीशमध्ये सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालसँग सुनुवाई गरेसँगै ६ जनाकै सुनुवाई सककििएको हो। सुनुवाई भएका प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनका लागि पुस ४ गते बैठक बस्ने समितिले जनाएको छ। 

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो।

जसमध्ये सोमबार संसदीय सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले छिटो न्याय प्रदान गर्ने, पुराना मुद्दाहरूलाई किनारा लगाउँदै जाने कुरालाई एकीकृत कार्ययोजनाका साथै प्रणालीगत विकास गर्नुपर्ने बताउनुभो। उहाँले बहस व्यवस्थापन सम्बन्धमा लिड लयरको व्यवस्थापन गरी बहस गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै अर्का प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले न्यायसेवाको गुणस्तर, सहज कार्यवातावरण र छिटो न्याय प्रदानका साथै विकृति, भ्रष्टाचार अन्त्य गर्न आफूले पहल गर्ने बताउनुभयो।

उहाँले न्यायीक सुधारका लागि यसअघि आएका प्रतिवेदनका आधारमा यस क्षेत्रको सुधारका लागि पनि आफू लागिपर्ने जिकिर गर्नुभयो। 

बैठकमा समिति सदस्यहरूले सहजरूपमा छिटो न्याय प्रदान गर्न प्रस्तावित न्यायाधीशहरूको कार्ययोजनाबारे प्रश्न गर्नुभएको थियो । सुनुवाई समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेमात्रै नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : १५ बजे