विचार गोष्ठीको आयोजना गर्दै षडानन्द स्मृति प्रतिष्ठानले मनायाे बाला गुरु षडानन्दको १८९ औँ जन्मजयन्ती 

इटहरी । षडानन्द स्मृति प्रतिष्ठान,इटहरी-५ ले बाला गुरु षडानन्दको १८९ औँ जन्म जयन्ती मनाएको छ । इटहरी-५ स्थित षडानन्द स्मृति कक्षमा विचार गोष्ठीको आयोजना गर्दै  १८९ औँ जन्म जयन्ती मनाएको हो ।

प्रमुख अतिथि पूर्वमन्त्री मुकुन्द बहादुर बस्नेतले बाला गुरुका  शिक्षा,धर्म संस्कृति,प्रकृति र पर्यावरण लगायत बहु आयामिक विशिष्ट क्षेत्रमा महत्त्वपूर्ण  योगदान गरेको स्मरण गर्नुभयो । 

उहाँले बाला गुरु जस्ता शैक्षिक तथा समाज सुधारक व्यक्तित्व कुनै एक जात,धर्म भाषा समुदाय र संस्कृति विशेषका मात्र नभएर देशकै विभूति रहेको उल्लेख गर्नुभयो ।

उहाँले महानतम भूमिका र योगदान गर्ने व्यक्तित्वहरूलाई सरकारले राष्ट्रका  विभूति घोषणा नगरेकामा उहाँले आपत्ति जनाउनुभयो ।

कार्यक्रमका प्रमुख वक्ता प्रा.डा.बद्री विशाल पोखरेलले बाला गुरुका समाज रूपान्तरणकारी भूमिका र योगदानलाई सबैले आफ्नै जीवन र व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक बल्लभ पोखरेलको संयोजनमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष  तथा वरिष्ठ पत्रकार कृष्ण विनोद लम्सालले सम्मानित व्यक्तित्वको परिचय व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा वरिष्ठ बुद्धिजीवी लेखनाथ घिमिरे, लेखक मिथिला पोखरेल, कवि रुद्र प्रसाद पोखरेल,गणेश भट्टराई कृष्ण प्रसाद चौलागाईले आआफ्ना  विचार र रचना प्रस्तुत गर्नुभएको थियो । 

शिक्षा र जनचेतना तथा जागृतिका प्रथम ज्योति रहनुभएका  षडानन्दले  विसं १९३२ भोजपुर जिल्लाको   षडानन्द नगरपालिकास्थित दिङ्लामा  जनस्तरमा पहिलो संस्कृत पाठशालाको स्थापना गर्नुभएको थियो । 

विसं १८९२ सालमा दिङ्लाको गडीगाउँमा रुक्मिणी र  लक्ष्मीनारायण अधिकारीका कनिष्ठ सुपुत्रका रुपमा जन्मिएका षडानन्द गर्भे टुहुरा हुनुहुन्थ्याे । 

उहाँ स्थानीय धनमाया दमिनीको स्तनपान गरेर हुर्किनुभएको हो । जनकपुर हुँदै बनारस पुगेर पण्डित, सन्त महन्त र  योगीका सन्निकट रहेर ध्यान योग सहित विविध विषयको जान आर्जन गर्नुभएको थियो । उहाँले चन्द्र शमशेरले भन्दा पहिले नै दिङ्लामा सती प्रथा बन्द गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।   

छुवाछूत जस्ता कुप्रथाका विरुद्ध समाजमा जागरण ल्याउने बाला गुरुले बाटोघाटो, बन जङ्गल जडीबुटीको संरक्षण , रुद्राक्षारण्यको प्रारम्भ,   चौमासा पुराण सुरुवात  र स्थानीय उपभोग्य वस्तु पदार्थ उत्पादन तथा विरणलाई प्रोत्साहित साप्ताहिक हाट र  राम नवमी सद्मी जस्ता वार्षिक मेला लगाउने प्रबन्धको सुरुवात तथा विद्यालय सञ्चालनार्थ जनस्तरबाट गुठीको स्थापना समेत गर्नुभएको थियो । 

बाला गुरु प्रकृति र पर्यावरण लगायत अनेक सामाजिक, सांस्कृतिक, धार्मिक लगायत कामहरू प्रारम्भ  गर्नुभएको थियो । 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ३ : ५२ बजे