आन्तरिक विवादका कारण पोखराको प्याराग्लाइडिङ उडान बन्द 

पोखरा । आन्तरिक विवादका कारण पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ । 

नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान हुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो । 

प्याराग्लाइडिङको उड्नेका लागि शुल्क तोक्नेदेखि व्यवस्थापनसम्मको जिम्मेवारी सम्बन्धित कम्पनीलाई दिइएपछि उत्पन्न विवादलाई देखाउँदै प्राधिकरणले उडान रोकेको हो । प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान रोकेपछि चार दिनदेखि पोखरामा प्याराग्लाइडिङ उडान ठप्प छ । 

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था नाले शुल्क तोक्ने र पालो प्रणाली अपनाउने गर्दै आएको थियो । गत शुक्रवारबाट ‘ना’ ले सबै अधिकार सम्बन्धित कम्पनीलाई दिएपछि एक सयभन्दा बढी पाइलटले असहमति जनाउँदै आन्दोलनमा उत्रिएका छन् । 

नेपाल हवाई खेलकुद संस्था ना प्रति पनि असहमति जनाउँदै केही व्यवसायीले सम्पूर्ण अधिकार व्यवसायीलाई दिनुपर्ने माग राखेका थिए । संस्थाले नै शुल्क तोक्नेदेखि आलोपालो प्रणाली लागु गर्नु पनि सिन्डिकेट भएको भन्दै विरोध भएपछि नाले व्यवसायीलाई सबै अधिकार छाडेको हो । नाको यो निर्णयपछि पाइलटहरूले आफ्नो सुविधा घट्ने, अव्यवस्थित र असुरक्षित हुने, मनपरी शुल्क लिने क्रम बढ्ने भन्दै उडानसमेत बन्द गराएका थिए । 

विवादकै मानसिकतामा उडान भर्न दिँदा झनै असुरक्षित हुने भएकाले समस्या समाधान हुँदासम्मका लागि उडान रोकिएको नागरिक उड्डयन प्राधिकरणका उपप्रवन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । 

पोखरामा अहिले प्याराग्लाइडिङ उडान गर्ने ७४ वटा कम्पनी छन् भने अहिलेसम्म संस्थाले नै शुल्क तोकिदिँदा प्याराग्लाइडिङ उडानको स्वदेशी, विदेशी दुबैका लागि १२ हजार रुपैयाँ तोकिएको थियो ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : १३ बजे