एउटै लक्ष्य र गन्तव्य : कम्फर्टेबलवाद र लोकप्रियतावादको राजनीति

रूपमा हेर्दा कम्फर्टेबलवादी र लोकप्रियतावादीहरू फरक-फरक देखिन्छन् तर सरमा उनीहरू एउटै लक्ष्य प्राप्ति र गन्तव्यमा पुग्नका लागि कार्यशील भइरहेका छन्। कम्फर्टेबलवादीहरू सत्ताको प्रयोग गरेर परिपूर्ण लोकतान्त्रिक गणतन्त्रको बाटोमा गौँडा खन्दैछन् भने त्यही गौडामाथि उफ्रिएर लोकप्रियतावादीहरू मिसन ८४ भन्दैछन्। यो यथार्थ जनतालाई बुझाउन नसक्दा परिपूर्ण लोकतान्त्रिक गणतन्त्रको बाटो अवरुद्ध गरेर भूतप्रेतहरू जाग्न खोज्दै छन्।

पुरानो काँग्रेस अर्थात् आजको अण्टी काँग्रेसको राजनीति र आर्थिक नीतिले हाम्रो देश समस्यामा थियो नै अब नयाँ काँग्रेस अर्थात् घण्टी कांग्रेसबाट थप समस्या सिर्जना गर्ने प्रयास भइरहेको सङ्केत मिलेको छ। समय मै होसियार भएर खबरदारी गर्न सकिएन र विवेकसम्मत निर्णय गर्न सकिएन भने भोलिका दिनमा देश अरू समस्यामा पर्नेछ । यति बेला एकातिर अण्टी काँग्रेसको नेतृत्वमा माझण्डहरूसहितको कम्फर्टेबल सत्ता गठबन्धनले जनतामा वितृष्णा र असन्तुष्टि बढाउने काम भइरहेको छ भने अर्कातिर घण्टी काँग्रेसको नेतृत्वमा लोकप्रियतावादले जनतालाई भ्रममा पारेर भावनात्मक रूपमा भड्काउने प्रयास हुँदैछ । जसले गर्दा देशमा फेरि राजनैतिक तथा संवैधानिक अस्थिरता निम्त्याउने आधार बन्दैछ ।

हामीले बुझ्नुपर्छ, कम्फर्टेबलवाद र लोकप्रियतावाद नवउदारवादको सिक्काको दुई पाटाहरू हुन्। त्यसैले त उनीहरू रूपमा फरक देखिन्छन् र सारमा उस्तै भेटिन्छन्। कम्फर्टेबलवादका गतिविधि र निर्णयहरूले जनतामा संशय सिर्जना गर्ने अनि त्यो संशयको जगमा लोकप्रियतावादले आफूलाई बलियो देखाउने काम भइरहेको छ । यसको अन्तर्य जे-जसरी भएता पनि समृद्ध नेपाल सुखी नेपाली बनाउने यात्रामा अवरोध सिर्जना गरेर राजनैतिक तथा संवैधानिक अस्थिरतामार्फत बाह्य स्वार्थहरू बलियो बनाउने दक्षिणपन्थी नवउदारवादलाई राज्य सत्तामा कायम गरिराख्ने र कम्न्युनिष्ट राजनीतिलाई बदनाम गराएर कमजोर बनाउने रणनीति सफल बनाउने हो ।

यति बेला कम्फर्टेबलवाद र लोकप्रियतावादको सार एउटै नदेखिओस् र जनतालाई झुक्याउन सकियोस् भनेर राजनीतिक बजारमा लोकप्रियतावादीहरूले पुराना जति सबै खराब नयाँ जति असल भन्ने गलत भाष्य व्यापक बनाईंदैछ। उनीहरूको मुख्य उद्देश्य नेपालमा बलियो राष्ट्रिय शक्ति बन्न नदिने र देशलाई गरिब बनाइराख्ने रणनीति हो। यो रणनीति सफल बनाउन देउवा र माझण्डहरूलाई कम्फर्टेबल गठबन्धनमा त रवी र बालेनहरूलाई नयाँ र लोकप्रियतावादको नारामा परिचालित गरिँदै छ। यो आजको राजनीतिक यथार्थ हो। तर यो यथार्थप्रति जनता पूर्ण रूपमा जानकार छैनन्। जसका कारणले सत्ताभित्र र सत्ता बाहिर बसेर उनीहरूले जनताको मनस्थिति र देशको परिस्थितिलाई अराजक, स्वछन्द र नकारात्मक बनाउने मुख्य भूमिका खेलिरहेका छन्।

त्यसैले हामीले राजनीति र राजनीतिक दलको वैचारिक चरित्र बुझेर मात्रै ती दलका बारेमा धारणा बनाउनुपर्छ। हामीले बुझ्नुपर्छ, दक्षिणपन्थी नवउदारवादी चरित्र भएका दलहरूले कहिल्यै पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्दैनन्। त्यस्तै त्यागबिनाको राजनीति भावनात्मक रूपमा बलियो हुँदैन भने विचारबिनाको राजनीति अवसरवादबाट निर्देशित भइरहन्छ। अनि नैतिकता र चरित्रबिनाको नेतृत्व सधैँ अवसरवादी हुन्छ, आफ्नो व्यक्तिगत लाभहानीमा राजनीति गर्छ। त्यसैले राजनीतिमा त्याग र विचार अनि नेतृत्वमा नैतिकता र चरित्र हेरेर असल र खराब छुट्याउनुपर्छ।

राजनीतिमा दिगो जित प्राप्त गर्न त्यागको भावना, विचारप्रतिको प्रतिबद्धता र प्रणालीप्रति विश्वास हुनुपर्छ। साथै राजनीतिक दलको नेतृत्व नैतिक र चारित्रिक रूपमा बलियो पनि हुनुपर्छ। तर नेपालमा पछिल्लो समय चर्चामा आएका राजनीतिक दल र पात्रहरूमा न त्यागको भावना छ, न प्रणालीप्रति विश्वास, न त नैतिक र चारित्रिक रूपमा नेतृत्व नै प्रश्नविहीन छ । उनीहरू त अवसरवादको साहारा लिएर भ्रमपूर्ण लोकप्रियतावादको राजनीति गरिरहेका छन् । यो आजको सत्य हो। जनताले यो सत्य बुझ्नुपर्छ र ती अवसरवादीहरूलाई चिन्नुपर्छ ।

यदि उनीहरूमा त्यो त्यागको भावना र राजनीतिक विचार थियो अनि नैतिक र चारित्रिक रूपमा दाग लागेको थिएन भने उठेका प्रश्नहरूको उत्तर दिन सक्नुपर्थ्यो। तर उत्तर दिएका छैनन् किनभने उत्तर दिने नैतिक धरातल छैन। उनीहरूमाथि उठेका प्रश्नहरू यस प्रकारका छन्;

o   हिजो नेपाली नागरिकता किन त्यागेको फेरि त्यागेको नागरिकता देखाएर नेपाली राहदानी किन लिएको?
o   आफ्ना सन्तानहरू कता छन् र कुन देशका नागरिक हुन्?
o   पारिवारिक र व्यक्तिगत जीवन विवादित बन्नु पछाडिका कारणहरू के-के हुन्?
o   नैतिक तथा आर्थिक चरित्रमाथि किन प्रश्न उठिरहेको छ?
o   पत्रकार शालिकराम पुडासैनीको आत्महत्या र चुनावताका ड्राइभरको हत्यामा जिम्मेवार को?

एउटा सत्य के हो भने यी माथिका प्रश्नहरूबाट सम्बन्धित पात्र पन्छिन् खोज्दै छन्। त्यो त विगत हो भन्दैछन्। जबकि व्यक्तिको विगतले वर्तमान देखाउँछ भने वर्तमानले भविष्य कस्तो बनाउने भन्ने आधार बनाउँछ। विवादित विगत भएकाहरूले आसातित भविष्यका लागि योगदान गर्न सक्दैनन् किनभने उनीहरूको नैतिक र चारित्रिक धरातल ज्यादै कमजोर हुन्छ। यसर्थ हामीले कुनै भ्रममा नपरी त्यस्ता पात्र र प्रवृत्तिहरूलाई सामाजिक तथा राजनीतिक बहिष्कार गर्न सक्नुपर्छ। तर सकिरहेका छैनौँ, जसले ती खराब पात्रहरूको मनोबल बढाइदिएको छ।

राजनैतिक तथा संवैधानिक व्यवस्थामा आएको परिवर्तन, परिवर्तनले ल्याएको र बढाएको जनअपेक्षाहरूको समय मै सम्बोधन हुन नसक्दा जनतामा वितृष्णा र असन्तुष्टि बढेको छ। फेरि जे जति सम्बोधन भएको छ र जति हुन सकेन त्यसका बारेमा चर्चा नै भएको छैन । राज्यले जुन गतिमा काम गर्नु पर्थ्यो नगरेकै हो । तर किन गर्ने सकेन भनेर कहिल्यै छलफल भएन किनभने हाम्रो शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक संरचनाले राजनैतिक तथा संवैधानिक व्यवस्थामा आएको परिवर्तनको अनुकूल हुनेगरि काम नै गरेन । हाम्रा प्राज्ञिकहरूले पनि पुरानो शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक संरचनाबाट जनताका अपेक्षाहरू पूरा हुँदैनन् भनेर भन्नै सकेनन्। परिणामस्वरूप जनतामा वितृष्णा र असन्तुष्टि बढिरह्यो ।

आज जनताको त्यही वितृष्णा र असन्तुष्टिको जगमा लोकप्रियतावादीहरू मिसन ८४ भनिरहेका छन् भने राजतन्त्रवादीहरू लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रात्मक राजनैतिक व्यवस्था नै ठिक भन्ने आँट गरिरहेका छन् । राजनीतिमा देखिएको यी दुवै प्रवृत्तिलाई पर्दा पछाडिबाट नेपालमा नियन्त्रित अस्थिरता चाहने शक्तिहरूले भरथेग गरेर आफ्नो पक्षमा माहौल बनाउन खोजिरहेका छन् । जसलाई कम्फर्टेबल सत्ता गठबन्धनले सत्तामा बसेर सघाइरहेका छन् । जबसम्म हामीले यी तीन शक्तिहरूको राजनीतिलाई पछाडि पार्न सक्दैनौँ तबसम्म नेपालमा लोकतान्त्रिक गणतन्त्र परिपूर्ण बनाउने देशमुखी राजनीति बलशाली बन्ने वातावरण बन्दैन।

जनतामा देखिएको वितृष्णा र बढेको असन्तुष्टिहरू हटाउनका लागि शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक संरचनाहरूलाई राजनैतिक तथा संवैधानिक व्यवस्थाको चरित्र अनुरूपको बनाउनुपर्छ । यदि हामीले शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक संरचनाहरूमा संरचनात्मक परिवर्तन गरेर जनताका अपेक्षाहरू सम्बोधन गर्ने बाटो लियौँ र वातावरण बनायौँ भने  जनतामा देखिएको वितृष्णा र असन्तुष्टि न्यून भएर जान्छ अनि लोकप्रियतावादी र राजावादीको राजनीति स्वतः कमजोर बन्छ। त्यति मात्र होइन, कम्फर्टेबलवादीहरूको राजनीति पनि सकिन्छ ।

लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई आफ्ना चासोहरू व्यक्त गर्ने, स्वतन्त्र रूपमा विचारहरू राख्ने र असहमतिहरू सार्वजनिक गर्ने पूर्ण अधिकार हुन्छ। तर भ्रम, प्रभाव र प्रलोभनमा परेर भावनात्मक रूपमा भड्किएर गलत राजनीतिलाई साथ दिनु भनेको तावाको माछा उफ्रिएर भुङ्ग्रोमा परे जस्तै हो । त्यसैले गुण दोषका आधारमा आजको राजनीतिको समीक्षा, मूल्याङ्कन, समर्थन र विरोध गर्न सक्नु नै असल नागरिकको प्रमाण हो ।

सञ्चार र सञ्जालहरूमा आएका अफवाहहरूको प्रभावमा परेर असन्तुष्टि व्यक्त गर्नु र विरोधमा देखिनु भनेको आफ्नो सामाजिक कद होचो बनाउनु हो । त्यसैले सत्य तथ्य बुझेर गुण दोषका आधारमा हामी पक्ष विपक्षमा उभिन सक्नुपर्छ। तर यो खालको क्षमता हामीमा देखिएको छैन किनभने हामी जसरी प्रशिक्षित भइरहेका छौँ, त्यसले हामीलाई सही बाटोमा लाग्न प्रेरित गरिरहेको छैन। त्यसैले समस्या शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक संरचनाहरूमा छ, तर समाधान राजनीतिमा मात्र खोज्दा समस्या झन् बढेको अवस्था छ।

यस्तो अवस्थामा हामीले भएका राजनीतिक दलहरू मध्येबाट सबभन्दा असल वा कम खराब राजनीतिक दल र नेतृत्व चिन्न र रोज्न सक्नुपर्छ। त्यसैले हामीले स्पष्ट भाषामा भन्न सक्नुपर्छ, सबै दल र नेताहरू खराब छैनन्, कोही असल छन् त कोही खराब अनि कोही कम खराब। तथ्यहरू हेरेर विचार, नेतृत्व, अभ्यास र आचरणहरूको सूक्ष्म विश्लेषण गरेर निष्कर्षमा पुग्न सक्नुपर्छ । लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउन र परिपूर्ण लोकतन्त्रको बाटोमा अवरोध पुर्‍याउने दृष्टिकोण र लक्ष्यका साथ पुराना जति सबै खराब भनिँदै छ । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाले गरेको बदमासीलाई लिएर शेखर कोइरालालाई बदनाम गराउन खोजिँदै छ भने माझण्डहरूको गरेको बदमासीलाई लिएर केपी ओलीलाई दण्डित गर्ने प्रयास भइरहेको छ । यो खालको राजनीति अन्यायपूर्ण छ। जबकि दण्डित हुनुपर्ने पात्रहरू कम्फर्टेबल सत्ता गठबन्धनमा रमाइरहेका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : १२ बजे