गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकसमक्ष सुलभ पहुँचमा पुर्‍याउनु राज्यको दायित्व हाे : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकसमक्ष सुलभ पहुँचमा पुर्‍याउनु राज्यको महत्त्वपूर्ण दायित्व भएको बताउनुभएको छ ।

नेपाल वाक तथा श्रवण सङ्घको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन तथा तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले स्वास्थ्य सेवालाई आम नागरिकसमक्ष सहज र सरल ढङ्गबाट पुर्‍याउनुपर्ने बताउनुभयो । 

उहाँले विद्यालयहरूमा नियमित श्रवण परीक्षण गरिनुपर्ने र श्रवणयन्त्र प्रयोगकर्ताहरूलाई साधारण श्रवण यन्त्रहरू नि:शुल्क वितरण गर्ने व्यवस्था समेत गरिनुपर्नेमा जोड दिनुभयो । 

बढ्दो उपभोक्तावाद, बदलिँदो जीवनशैली तथा तीव्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगका साथै बोलाई तथा सुनाई सम्बन्धी विकारहरू बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो -'चिकित्सा विज्ञानका सबै विधा र क्षेत्रहरू मानव स्वास्थ्यका लागि उत्तिकै महत्त्वपूर्ण छ ।'

उहाँले आधुनिक विज्ञान र प्रविधिको विकास एवम् विश्वव्यापीकरणमा आएको तीव्रताका कारण मानव सभ्यताले एक अर्कासँग सहज अन्तरक्रिया गर्न सक्षम भएसँगै चिकित्सा विज्ञान र औषधी उपचारका क्षेत्रमा पनि अनुभव र सिपको आदानप्रदान सजिलो भएको बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवाको उपलब्धता र मेडिकल शिक्षामा आम नागरिकको पहुँच आपसमा अन्तरसम्बन्धित विषय भएको जनाउँदै राज्यले विशिष्टीकृत स्वास्थ्य सेवा प्रवर्द्धनका लागि अध्ययन अनुसन्धानमा समेत लगानी बढाउनुपर्ने खाँचो रहेको जनाउनुभयो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ३ : १० बजे