एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा आज दिनभर तेह्रथुममा रहने

काठमाडौँ । नेकपा एमालेको जारी मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आज अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुम पुग्दै छ । 

तेह्रथुमको वसन्तपुरबाट अहिले बिहान सुरु हुने यात्रा साँझ आठराई गाउँपालिकाको पर्यटकीय स्थल सङ्क्रान्ति बजारमा पुगेर बास बस्नेछ कार्यक्रम रहेको एमालेले जनाएका छ ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार वसन्तपुरबाट सुरु हुने यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ । उक्त स्थानमा स्थानीय बासिन्दा ,राजनीतिक दलका नेताहरू,जनप्रतितिनिधीसँग भेटघाट तथा संक्षिप्त अन्तरक्रिया गर्ने कार्यक्रम छ । त्यहाँबाट अघि बढेको टोली तेह्रथुमकै औँसी डाँडामा स्थानीय बासिन्दासँग सो क्षेत्रका समस्या र विकासका सम्भावना बारे छलफल गर्ने तयारी छ । साँझ सङ्क्रान्ति बजारमा पुगेर बास बस्ने प्रमुख गौतमले जानकारी दिनुभयो । 

आजको यात्रा दिनभर तेह्रथुम जिल्लाभित्रै हुनेछ । यात्रा टोलीले आज ९४ किलोमिटर दुरी पार गर्नेछ ।

मध्य पहाडका समस्याको पहिचान र तिनको समाधानका उपाय पहिल्याउन एमालेले मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ जिल्लाको यात्रा तय गरेको हो । १९ दिने यात्राको आज १६ औँ दिन हो । यात्रामा एमालेको केन्द्रीय सचिवालयका सबै पदाधिकारी सहभागी हुनुहुन्छ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने , विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : ४३ बजे