एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा आज भोजपुरबाट धनकुटा हुँदै तेह्रथुम पुग्ने

काठमाडौँ । नेकपा एमालेको जारी मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आज भोजपुरबाट धनकुटा र तेह्रथुमका लागि प्रस्थान गर्दैछ ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार यात्राको १५औँ दिन भोजपुरबाट धनकुटाको लेगुवा हुँदै पख्रिबास, हिले, सिंधुवा भएर तेह्रथुमको वसन्तपुर पुग्ने र आज वसन्तपुरमा आमसभा हुनेछ । आजको यात्रा ९४ किलोमिटरको हुने जनाइएको छ । 

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने , विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको यात्रामा पार्टीका नेताहरू सहभागी हुनुहुन्छ। यही मङ्सिर १४ गते बैतडीबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरमा पुगेर सकिँदै छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : ४२ बजे