सुनको मूल्यमा नयाँ कीर्तिमान

टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीश ढुंगाना र श्रेष्ठको इजलासमा

काठमाडौं ।  टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको छ।

यसअघि मंसिर १९ गते रिटको पेशी न्यायाधीश सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा तोकिएको थियो। तर,न्यायाधीश माथेमा  र शर्माको संयुक्त इजलासले 'हेर्न नभ्याइने' सूचीमा राखेको छ।

 मंसिर ५ गते  न्यायाधीश विनोद शर्माको एकल इजलासले रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गर्दै टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश दिएको थियो।

टिकटकलाई प्रतिबन्धित गर्ने  सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ वटा रिट दायर भएका थिए। २७ गते कार्त्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको  थियो। टिकटकबाट समाजमा विसंगति,विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय सरकारले गरेको हो।

टिकटक बन्द गर्ने सरकारको निर्णय  गैरकानुनी एवं गैर संवैधानिक,बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीलगायतले निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।

नेपाल सरकार,सूचना तथा संचार मन्त्रालय सिंहदरबार र नेपाल दूरसञ्चार प्राधिकरण जमललाई रिटमा विपक्षी बनाइएको छ। 

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १२ : २९ बजे