यस्तो छ आजको विनिमय दर

अलैँचीको मूल्यमा केही सुधार भएपछि किसान उत्साहित

सङ्खुवासभा । सङ्खुवासभामा अलैँचीको मूल्यमा यस वर्ष केही सुधार भएपछि किसानहरू उत्साहित भएका छन्  । 

अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) को ७० हजार रुपैयाँ पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार हुँदै आएको अलैँचीको मूल्य क्रमशः घटेर प्रतिमन २५ हजारसम्म झरेको थियो ।

पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । 

जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । 

उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उहाँको भनाइ छ । त्यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ ।  

अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । 

यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गर्ने गरिएको छ ।

जिल्लामा करिब ४० वर्षभन्दा पुराना बोट भएकाले पनि उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ९ : १६ बजे