एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

जबजको चौधौँ विशेषता : जनताको बहुदलीय जनवाद

नवीन विचारक जननेता मदन भण्डारी प्रणीत नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले विभिन्न मुलुकहरूमा अपनाइएका लोकतान्त्रिक अवधारणाहरू, मानवन जातिद्वारा सिर्जित सामाजिक मूल्य तथा मान्यता एवं मानव अधिकारका विश्वव्यापि दृष्टिकोणहरूलाई अंगीकार गर्दै न्याय र समानतामा आधारित शोषणरहित समाज निर्माण गर्ने धारणा अगाडि सारेको छ ।

सन् १९१७ मा सोभियत संघमा भएको पहिलो समाजवादी क्रान्तिको सफलतापछि विकसित विश्व समाजवादी प्रणालीलाई समेत मार्गदर्शन र थप सुदृढ तुल्याउन भूमिका निर्वाह गरिसकेको वैज्ञानिक सिद्धान्त माक्र्सवादको सिर्जनात्मक विचार जबज नेपालमा सामाजिक–आर्थिक रूपान्तरण गर्नसक्ने सिद्धान्तको रूपमा रहेको छ । समष्टिमा राष्ट्रको विकास गर्नसक्ने यस सिद्धान्तको व्यावहारिक प्रयोगसहित मुलुक अहिले सामाजिक आर्थिक विकासको यात्रामा अगाडि बढिरहेको छ । 

हाम्रो देशमा सामन्तवाद–साम्राज्यवाद पोषित विभिन्न शोषण–उत्पीडन तथा विकृति एवं विसंगतिलाई उन्मूलन गर्ने दृष्टिकोण अवलम्बन गरेको आधुनिक विश्व परिस्थिति अनुकूलको सिद्धान्त जबजका थप १४ वटा मुख्य विशेषताहरूको कार्यान्वयनबाट लोकतान्त्रिक विधि मार्फत संघर्षका विविध रूपहरूको प्रयोग गर्दै सुन्दर र सभ्य समाज निर्माण गर्न मद्दत पुग्दछ । विश्व कम्युनिष्ट आन्दोलनले व्यहोर्न बाध्य हुनुपरेका पीडाहरू र सफलताका अनुशरणयोग्य पक्षहरूको समीक्षा गरीकन विकसित भएको माक्र्सवादको सृजनात्मक प्रयोग जबजका महत्वपूर्ण विशेषताहरू भनेका विश्वमा लोकतन्त्र र मानव अधिकारको अभ्यास गर्ने सन्दर्भमा हासिल भएका उपलब्धी, संसारमा माक्र्सवादको पहिलो प्रयोग भई विकसित भएको सोभियत मोडेलको समाजवादले व्यहोरेको गम्भीर क्षतिबाट प्राप्त नकारात्मक शिक्षाजस्ता विषयहरूबाट उत्पन्न भएका हुन् । ती विशेषताहरू—संविधानको सर्वाेच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति, नेतृत्व र अधिनायकत्व तथा जनताको बहुदलीय जनवाद हुन् । यस आलेखमा जबजका थप मौलिक विशेषताहरू मध्ये चौधौँ विशेषताको रूपमा रहेको ‘जनताको बहुदलीय जनवाद’ को मूलभूत अवधारणा बारे संक्षेपमा चर्चा गर्ने कोशिस गरिएको छ ।

जननेताले नेकपा (एमाले) को ऐतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशन (वि. सं. २०४९ माघ १४–२०) मा प्रस्तुत गरेर अनुमोदन भएको र त्यसबखत नेपाली क्रान्तिको कार्यक्रमको नाम दिइएको ‘जनताको बहुदलीय जनवाद’ को विषयमा त्यस यता विषद् चर्चा र विमर्श हुँदै आएको छ । जबज क्रमिक रूपमा सफलता हासिल गर्दै गएको र नेपालको सन्दर्भमा यो दृष्टिकोण सिद्धान्तको रूपमा विकसित बनेर माक्र्सवादको नयाँ संस्करणको रूपमा समृद्ध भएपछि यसउपर झनै घनिभूत छलफल र अन्तरक्रिया भइरहेको छ । हिजो जबजका बारेमा फरक दृष्टिकोण राख्ने र विरोध गर्नेहरू समेत यसको पक्षमा आउन थालेका छन् । विभिन्न नामका वामपन्थी र कम्युनिष्ट नामधारी पार्टीहरू समेत क्रान्तिको कार्यक्रमको नाम फरक राखे पनि यसै सिद्धान्तको सार र रूपको वरिपरि रहेर दृष्टिकोण बनाइरहेको प्रष्ट देख्न सकिन्छ । यो जबजका पक्षधरहरूका निम्ति खुशी र प्रेरणाको विषय हो । तर यत्तिकैमा चित्त बुझाएर बस्नु भन्दा पनि थप प्रचार प्रसार गर्दै बदलिएको परिवेशमा यसको रक्षा, प्रयोग र समृद्धिको निम्ति क्रियाशील हुनु जबजका पक्षपातिहरूको गहन दायित्व हो । 

विश्वमा पूँजीवादको साम्राज्यवादमा पतन भइसकेपछि तेस्रो विश्वका आर्थिक अवस्था कमजोर र सामन्ती उत्पादन सम्बन्ध कायम भएका देशहरूका सत्तासँग साँठगाँठ गरेर वा तिनलाई प्रभावमा पारेर साम्राज्यवादले नवउपनिवेशी नीति मार्फत कमजोर देशहरूको प्राकृतिक स्रोत साधनमाथि आधिपत्य कायम राख्न थाल्यो । सामन्तवादले पनि आफ्ना विरुद्ध हुने जनलहरबाट टिक्नु पर्ने भएकाले नव औपनिवेशिक प्रवृत्तिप्रति आँखा चिम्लिनु र साँठगाँठ गर्नु अनिवार्य ठान्यो ।

यस्तो अवस्थामा सामन्तवाद र साम्राज्यवादको जुवाबाट मुक्त भएर स्वतन्त्र अर्थतन्त्र निर्माण गर्दै समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने खाँचो त्यस्ता देशका जनताको काँधमा आयो । अर्थात् यस प्रकारको शोषण उत्पीडनबाट मुक्त हुनका लागि सर्वहारा श्रमजीवि वर्गको प्रतिनिधित्व गर्ने पार्टीले पहलकदमी लिनुपर्ने भयो । नेपाल यसबाट अछुतो हुने कुरा भएन र यहाँ वि. सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भइकन सामन्तवाद साम्राज्यवाद विरोधी कार्यक्रमको सारतत्व बोकेको ‘नयाँ जनवादी क्रायक्रम’ अगाडि सारियो ।  

सत्तरी वर्ष बढिको नेपाली कम्युनिष्ट आन्दोलनले अनेकौँ आरोह अवरोह पार गर्दै आफूलाई समृद्ध तुल्याउने कोशिस गरिरहेकै छ । सोभियत संघमा माक्र्सवादको पहिलो प्रयोग भएर स्थापना भएको सोभियत समाजवादी सत्ता त आज छैन तर विश्वका केही मुलुकमा अहिले पनि समाजवाद निर्माणको बाटो अगाडि बढिरहेको छ । एउटा स्मरणयोग्य विषय के छ भने पूर्व समाजवादी मुलुकहरूमा पनि पूँजीवादले शान्ति, सुस्थिरता र समृद्धि दिन सकेन ।

यसको अर्थ समाजवादको विकल्प पूँजीवाद हुँदै होइन भन्ने कुरा पुनः एकपटक पुष्टि भएको छ । विश्व समाजवादी प्रणालीले करिब १०५ वर्षको गौरवशाली इतिहास बनाइसकेको अवधिमा सन् १९९० मा सोभियत संघसहित पूर्वी युरोपका कतिपय मुलुकहरूमा सोभियत नमूनाको समाजवादले गम्भीर धक्का व्यहोरेपछि भने विश्व एकधु्रवीय बनेको छ र कम्युनिष्ट आन्दोनसहित समाजवादी प्रणाली पनि रक्षात्मक बन्न पुगेको यथार्थ हो । 

कम्युनिष्ट आन्दोलनमा लागेको उक्त गम्भीर धक्कापछि कोही दक्षिणपन्थी विसर्जनवादी भए, कोही उग्रवामपन्थी बने र कोही भने विगतको गम्भीर समीक्षा गरिकन माक्र्सवादको सिर्जनात्मक विकासको दिशातर्फ अगाडि बढे । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गरिरहेको शक्ति जबजका अनुयायीहरूले माक्र्सवादलाई आफ्नो देशको परिवेशमा सिर्जनात्मकढंगले लागू गर्ने प्रयास गरिरहेका छन् र तिनीहरूले सफलता पनि हासिल गर्दै गएका छन् । त्यो सफलताको अभियानको नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले) हो ।

यस पार्टीका तत्कालिन महासचिव जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जबजले अंगीकार गरेको कार्यक्रमका बारेमा उहाँले भन्नुभएको छ– “हाम्रो कार्यक्रम सामन्तवाद, दलाल नोकरशाही पँुजीवाद र साम्राज्यवादविरोधी कार्यक्रम हो । हाम्रो क्रान्ति सामन्तवाद–साम्राज्यवादविरोधी क्रान्ति हो । चीन, कोरिया, भियतनाम र पूर्वी युरोपेली देशहरूमा यस्तै क्रान्ति भएको थियो । यी सबै ठाउँका क्रान्तिले सामन्तवादलाई उन्मूलन गरेर किसानहरूलाई मुक्त पार्ने र साम्राज्यवादको सबै प्रकारका हस्तक्षेपलाई समाप्त पारेर राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने काम गरेको थियो ।”सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पूँजीवाद विरोधी सार र रुप बोकेको जबज आज एउटा लोकप्रिय र प्रभावकारी समाज रूपान्तरणको सिद्धान्तको रूपमा विकसित भएको छ भने यसलाई अरु देशका कम्युनिष्ट पार्टीले पनि गहनरूपमा हेरिरहेका छन् र यसबाट प्रभावित बनिरहेको कुरा सार्वजनिक पनि भइरहेको छ । 

जननेताले नयाँ जनवादी कार्यक्रको लक्ष्यबारे स्पष्ट पार्नुभएको छ । साथै उहाँले नयाँ जनवाद र जनताको बहुदलीय जनवादको बीचमा रहेका भिन्नताबारे पनि स्पष्ट गर्नुभएको छ । उहाँले भन्नुभएको छ— सामन्तवाद–साम्राज्यवादको उन्मूलन गर्ने, अर्धसामन्ती र अर्धउपनिवेशी उत्पादनसम्बन्ध समाप्त पारेर जनवादी र राष्ट्रिय सम्बन्ध कायम गर्ने तथा आम जनताको संयुक्त राज्यसत्ता स्थापना गर्ने हुनाले यसै अर्थमा हाम्रो क्रान्ति पनि नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो कार्यक्रम पनि नयाँ जनवादी नै हो । अरु मुलुकमा कतिपय आफ्ना विशेषताहरूको सन्दर्भलाई लिएर त्यसलाई कहीँ नयाँ जनवाद, कहीँ जनताको जनवाद र कहीँ राष्ट्रिय जनवादजस्ता नाम दिइयो । सारतत्वमा त्यो सबै नयाँ युगको सन्दर्भबाट जनताको जनवाद नै थियो । 

मुलुकमा सामन्तवाद साम्राज्यवादलाई उत्छेद गरिसकेपछि त्यसको ठाउँमा राष्ट्रिय पूँजी र उद्योग व्यवसायको विकास गर्दै राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने दिशामा निर्णायक भूमिका खेल्दै स्वतन्त्र र स्वावलम्बी अर्थतन्त्र निर्माणको बाटोमा जनवादी क्रार्यक्रमले मार्गदर्शन गर्दछ । यस कार्यक्रमले सामन्ती भूस्वामित्वको उन्मूलन गर्दै वास्तविक किसानलाई जमीनको मालिक बनाउँदै भूमिसुधारलाई प्रभावकारी तुल्याउँछ र कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा जोड दिन्छ । साथै यसले घरेलु आवश्यकताको परिपूर्ति गर्न र आयात प्रतिस्थापन गर्न उद्योगको विकासमा व्यापक जोड दिँदै औद्योगीकरण प्रक्रियालाई तीब्रता दिन्छ, आयात प्रतिस्थापन गरी व्यापार घाटा समाप्त पार्दछ र समाजवाद निर्माणको आधार तयार गर्दछ । 

जबजलाई अपनाउनु पर्ने विषयमा जननेताले विभिन्न तर्कहरू अगाडि सार्नु भएको छ । नयाँ जनवादी कार्यक्रमलाई लागू गर्ने सन्दर्भमा विभिन्न देशमा एकदलीय परिपाटी अवलम्बन गरियो । जनवादी व्यवस्थामा वर्गहरू हुन्छन् र बहुल विचारहरू पनि हुन्छन् । यस्तो अवस्थामा तिनको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी खोल्न पाउनु र त्यस अनुरूप राजनीतिक गतिविधिमा तिनले सामेल हुन पाउनु पर्दछ भन्ने मान्यता जननेताले अगाडि सार्नुभयो । जुन कुरा माक्र्सवादी द्वन्द्ववाद अनुरूप पनि छ ।

यहि पक्षलाई आत्मसात गर्दै जननेताले “आफ्नो देशमा विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थिति एवं आजसम्मका अनुभवहरूलाई विश्लेषण गर्दै तिनै आधारभूत तत्वहरूको साथमा कतिपय भिन्न कुराहरू पनि समावेश गरेका छौँ, हामीले थपेका विषयहरूलाई प्रतिनिधित्व गर्ने मूल अभिव्यक्तिको हिसाबले ‘बहुदलीयता’लाई उल्लेख गरेका छौँ ।

यस हिसाबले हामीले आफ्नो सन्दर्भमा उक्त क्रान्तिको कार्यक्रमलाई जनताको बहुदलीय जनवाद भनेर उल्लेख गरेका छैँ । वास्तवमा यो पनि हामीले आफ्नो सन्दर्भमा प्रयोग गरेको जनताको जनवाद नै हो” भन्नुभएको हो । उहाँ थप अगाडि भन्नुहुन्छ “अन्य देशहरूमा बहुदलीय प्रतिष्पर्धा रहेन । हामी भने त्यसभन्दा भिन्न सुस्पष्टरूपमा बहुदलीय प्रतिष्पर्धा सामेल गर्न चाहन्छौँ । यस अर्थमा हाम्रो कार्यक्रम र विचारको यो एउटा विशेष कुरा हो । यसलाई कार्यक्रममा पनि विशेषढंगले उल्लेख गर्नु आवश्यक छ ।”

यसरी नयाँ जनवादी कार्यक्रम र जनताको बहुदलीय जनवादी कार्यक्रमका बीचमा विभिन्न किसिमका भिन्नता भएकाले त्यसको समेत आँकलन गर्दै र जबजको सार र रूप दुबै पक्षलाई झल्काउने हिसाबले जननेताले कार्यक्रमको नाम नै सिर्जनात्मक र मौलिक रूपमा फरक ढंगले तय गर्नुपर्छ भन्नुभयो । यसलाई थप स्पष्ट पार्न उहाँ भन्नुहुन्छ –सारतत्व र आफ्ना थप विशेष कुराहरू समेत समावेश गरेर ‘जनताको बहुदलीय जनवाद’ भनेको हो । सामान्यतया जुनसुकै विशेषणका साथ जनवादको उल्लेख गरिए पनि हाम्रो कार्यक्रमको स्वरूप र सार दुबैलाई सटीकढंगले उल्लेख गर्दा हाम्रो क्रान्तिको कार्यक्रमको नाम ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्छ । परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिमा हामीले आफ्ना विचारहरूलाई यसरी नै कार्यक्रममा प्रस्तुत गरेका छौँ । 

पूँजीवाद साम्राज्यवादमा पतन हुनुभन्दा पहिले पँुजीवादले सामन्तवादलाई समाप्त पार्न र लोकतान्त्रिक मूल्य मान्यता प्रवद्र्धन गर्न ऐतिहासिक रूपमै प्रगतिशील भूमिका निर्वाह गरेको थियो । तर पछिल्लो कालमा पूँजीवादले सामन्तवादी शोषण दमनका सम्पूर्ण सार र रूपको अन्त्य गर्न सकेन । त्यहि भएर पछौटे मुलुक जहाँ उद्योगधन्दाको विकास भएको छैन, औद्योगिक मजदूर न्यून छ र कृषि नै मुख्य पेशा छ र सामन्ती उत्पादन सम्बन्ध छ, त्यस देशमा नयाँ जनवादी क्रान्ति गर्नुपर्ने अवस्था उत्पन्न भयो ।

यस क्रान्तिले राष्ट्रिय पूँजीको विकास र कृषिको आधुनिकीकरण र व्यवासायीकरण गर्दै समाजवाद निर्माणको जग तयार पार्दछ । पुरानो जनवादी क्रान्ति र नयाँ जनवादी क्रान्तिको चरित्रबारे जननेता भन्नुहुन्छ— नयाँ जनवादी क्रान्तिले   राष्ट्रिय पुँजी र उद्योग व्यवसायको विकासको बाटो खोलेको थियो । राज्यसत्ताको एउटा तेस्रो रूप आम जनताको जनवादी संयुक्त राज्यसत्ताको स्थापना गरेको थियो । सामन्तवादलाई उन्मूलन गरेर पनि यो पूँजीपति वर्गको अधिनायकत्व भएको एकलौटी राज्य थिएन । पुरानो जनवादी क्रान्तिले पूँजीपति वर्गको अधिनायकत्व भएको राज्यको स्थापना गरेको थियो । तर, यसले सामन्तवाद–साम्राज्यवादविरोधी आमजनताको संयुक्त राज्यको स्थापना गर्यो । विगतमा यसलाई नयाँ जनवाद भनियो भने परिवर्तित सन्दर्भमा यसका अवधारणाहरूलाई थप समृद्ध तुल्याएर जनताको बहुदलीय जनवाद भनेर पुकारिन्छ । 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ११ बजे