आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मेयर र उपमेयरका समर्थकबीच कार्यलयभित्रै कुटाकुट !

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको कार्यालयमा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट हुँदा तनाव सिर्जना भएको छ ।

कार्यकक्ष सार्ने विषयलाई लिएर उत्पन्न विवादका बीच मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको हो । मेयर राजेशमान सिंहको कार्यकक्ष केही दिन अगाडि महानगर परिसरको दक्षिणपट्टिको भवनमा सरेको थियो ।

मेयर अर्को भवनमा सरेपछि खाली भएको कोठालाई प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलको कार्यकक्ष बनाइयो । त्यसअघि प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष उपमेयर इम्तियाज आलमको कार्यकक्षसँगै थियो ।

प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठाको विषयलाई लिएर मेयर र उपमेयरबीच विवाद भएको महानगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन् ।

ती कर्मचारीका अनुसार प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठामा मेयर सिंहले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा राख्न खोजेका थिए ।

उक्त शाखा राख्ने तयारीअनुरुप सामानहरु व्यवस्थापन गर्न थालेपछि उपमेयरले अवरोध गरेका थिए । उपमेयर आलमले भने उक्त कोठाले आफूले प्रयोग गर्न पाउनुपर्ने अडान राख्दै आएका छन् ।

आफूले प्रयोग गर्ने भनेको कोठा अर्कै प्रयोजनका लागि प्रयोग हुन थालेको भन्दै उपमेयर आलमले आफ्ना समर्थक नै बोलाएर अवरोध गरेका थिए । उपमेयरले आफ्ना समर्थक बोलाएपछि मेयरका समर्थक समेत महानगरपालिका कार्यालयमा पुगेका थिए ।

दुवै पक्षका समर्थकबीच कार्यालयमै कुटाकुट भएको हो । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : २९ बजे