‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

क्रिश्चियन धर्मगुरु चरीबाबु गहतराज पक्राउ

काठमाडौं । नेपाल ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबाबु गहतराजलाई प्रहरीले पक्राउ गरेको छ ।

क्रिश्चियन धर्मगुरु समेत रहेका उनले प्रयोग गर्दै आएको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी कुमोद ढुंगेलले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा उनलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरेको जानकारी दिए ।

उनको शैक्षिक प्रमाणपत्र फर्जी भएको पुष्टि गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको थियो ।

ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको थियो। त्यसपछि उनी विवादमा तानिएका थिए ।

क्रिश्चियन धर्मप्रचारक उनले ‘महानअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गर्दा स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी परेको थियो ।

पत्रिका दर्तापछि उनी सूचीकरणका लागि सूचना विभागमा पुगेका थिए। जहाँ उनको प्रमाणपत्र नक्कली भएको उजुरीपछि छानबिन थालेको विभागले त्रिविबाट कागजपत्र झिकाएको थियो ।

समाजशास्त्रमा स्नातक गरेको भन्दै उनले पत्रिका दर्ताका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि पक्राउ गरिएको हो ।

त्रिविले उनको रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) सँग मेल खाने अभिलेख नभएको जवाफ सूचना विभागलाई दिएको थियो । गत भदौ २७ गते त्रिविले पठाएको पत्रमा ‘चरीबहादुर गहतराज, रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) को स्नातक डिग्रीको ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल सर्टिफिकेट यस कार्यालयको रेकर्ड भिडाई हेर्दा मेल नखाएको’, जनाएको थियो ।

चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही थालेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : १८ बजे