सुनको मूल्यमा नयाँ कीर्तिमान

एनसेलविरुद्ध अमरेशको रिटको पेशी न्यायाधीश ढुङ्गानाको इजलासमा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे परेको रिटको पेशी न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ ।

यसअघि आइतबार र सोमबार रिटमाथि सुनुवाइका लागि पेशी तोकिए पनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो । आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा र सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको थियो ।

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए । सांसद सिंहले रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरेका छन् ।

नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा गरिएको सेयर कारोबारको वैधानिकता उत्प्रेषणको आदेशले बदर गर्न समेत रिटमा माग गरिएको छ । आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको छ ।

एनसेल कम्पनीको शेयर बिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको छ । मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १२ : ३४ बजे