साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

नागरिकको नजर: एमालेको “समृद्धिका लागि सङ्कल्प यात्रा”

“सत्य कुरा बोल्नु र झुट कुराको उजागर गर्नु विद्वानहरूको जिम्मेवारी हो।” नोम चोम्स्की

सत्ताको नेतृत्व कम्फर्टेबल गठबन्धनबाट प्रचण्डले गरिरहेका छन् भने प्रचण्डलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सघाइरहेका छन्। तर सञ्चार र सञ्जालमा नेकपा एमाले र एमालेका अध्यक्ष केपी ओलीको विरोध भइरहेको छ। यसो गर्नुका पछाडि देशमा बाह्य शक्ति अर्थात् ईण्डोवेस्टको स्वार्थपूर्तिका लागि सहज परिस्थिति निर्माण गर्न खोजिरहेको कतै लुकेको छैन । तैपनि ‘पुराना जति सबै खराब नयाँ जति असल’ भन्ने गलत भाष्य व्यापक बनाउँदै जनतालाई भ्रमित बनाउने र भावनात्मक रूपमा भड्काउने प्रयासहरू पनि भइरहेका छन् । यसको मुख्य उद्देश्य नेपालमा बलियो राष्ट्रिय शक्ति बन्न नदिने र देशलाई गरिब बनाइ राख्ने रणनीति हो । यो रणनीति सफल बनाउन आजका मितिसम्म देउवा, माझण्डहरूदेखि लिएर रबीहरूलाई परिचालन गरिएको छ ।

यस्तो समयमा सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाटबाट कोसी प्रदेशको पाँचथरको चिवाभञ्ज्याङ अर्थात् च्याङथापुसम्म नेकपा एमालेले मङ्सिर १४ गतेबाट “समृद्धिका लागि सङ्कल्प यात्रा” सुरु गरेको छ । यस यात्राले “सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय” अभियानअन्तर्गत मध्य पहाडी लोकमार्ग आसपासका जनतासँगको प्रत्यक्ष संवादमार्फत स्थानीय समस्याहरूलाई राष्ट्रिय बहसमा ल्याउने र पार्टीको जनाधार बलियो बनाउँदै “समृद्ध नेपाल सुखी नेपाली” बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्ने राजनीतिक तथा सामाजिक-आर्थिक आधार तयार गर्नु हो।

“समृद्धिका लागि सङ्कल्प यात्रा” गर्नुको कारण र लक्ष्य अझै पनि आमजनतालाई बुझाउन नसकेको कुरा सञ्चार र सञ्जालमा आएका नकारात्मक समाचार, विश्लेषण र टिप्पणीहरूबाट थाहा हुन्छ। यसको खण्डन गर्न सञ्चार र सञ्जालहरूको प्रयोग पार्टीले यात्राकै क्रममा गर्नुपर्थ्यो । यसका लागि पार्टीको प्रचार र स्कुल विभाग सक्रिय बन्नुपर्थ्यो । किनभने आन्तरिक तथा बाह्य दक्षिणपन्थी शक्तिहरूलाई थाहा छ, नेकपा एमालेलाई बदनाम र कमजोर नबनाएसम्म उनीहरूको स्वार्थहरू पूरा हुनेवाला छैन। त्यसैले उनीहरू गुण दोषका आधारमा होइन, पूर्वाग्रही भएर एमाले र यसको मूल नेतृत्व विरुद्ध गतिविधि गर्ने र अभिव्यक्ति दिने काम गरिरहेका छन् ।

नेकपा एमाले बदनाम गराउन र कमजोर बनाउन दक्षिणपन्थीहरूले पहिले माझण्डहरू प्रयोग गरेका थिए भने अहिले एमालेभित्र बाँकी रहेका वा छोडिएका पात्रहरूलाई पनि प्रयोग गरिरहेका छन् । ती पात्रहरू खण्ड- खण्ड गरेर प्रयोग भइरहेका छन् । पहिलो चरणमा माधव नेपालहरू, दोस्रो चरणमा घनश्याम भुसाल र प्रभु साहहरू, तेस्रो चरणमा दुर्गा प्रसाईहरू र चौथो चरणमा भीमबहादुर रावलहरू प्रयोग गरिँदै छ । रावलको बेमौसमी अलाप र कचकच त्यसकै प्रमाण हो । अन्यथा एमालेको माया भएको भए उनले एमालेका विरोधीहरूको रणनीति सफल बनाउने गरी गतिविधिहरू गर्ने थिएनन् ।

मध्य पहाडी यात्राका क्रममा जनता, शुभचिन्तक तथा कार्यकर्ताहरू नेकपा एमालेको नेतृत्वले एमालेका विरुद्ध भइरहेका गतिविधिहरू र ती गतिविधिहरू गर्न प्रयोग भइरहेका पात्र र प्रवृत्तिहरूको तथ्य र तर्कका आधारमा भण्डाफोर गर्न सक्नुपर्छ । आफ्ना कुरा जनतालाई भनिरहँदा आफू विरुद्ध भइरहेका षडयन्त्रहरूलाई कमजोर बनाउने नीति पनि लिनुपर्छ। पार्टीमा हिजोआज अवसर पाउँदासम्म पार्टीमा नेतृत्वको देवत्वकरण गर्ने अनि अवसर नपाउँदा दानवीकरण गर्ने प्रवृत्ति बढेको छ ।  जबसम्म यो प्रवृत्तिलाई कमजोर बनाउन सकिन्न तबसम्म नेपालको कम्न्युनिष्ट आन्दोलन बलियो बनाउन सकिदैन् भन्ने सत्य स्विकारेर पार्टी गतिविधिहरूलाई अघि बढाउन सक्नुपर्छ। वैरीका सारथि बनिरहेकाहरूलाई नचिन्नु पार्टीको कमजोरी हो।

हामीले बुझ्नुपर्छ, “कम्न्युनिष्ट आन्दोलन कमजोर हुनु भनेको समृद्धिको समान वितरणमुखी समाजवादको संवैधानिक व्यवस्थालाई व्यवहारमा परिणाममुखी बनाउन नदिने दक्षिणपन्थी राजनीति बलशाली हुनु हो।” अहिले नेपालमा दक्षिणपन्थी राजनीति बलियो बनाउन एकातिर कम्फर्टेबल सत्ता गठबन्धनले प्रचण्डको नेतृत्वमा सत्ता सञ्चालन गरिरहेको छ भने अर्कातिर रबी र बालेनहरू प्रयोग गरेर नयाँ पुस्तालाई भ्रमित बनाउँदै भावनात्मक रूपमा भड्काउने काम गरिरहेको छ । तर जनताले दक्षिणपन्थीहरूको यो रणनीति स्पष्ट रूपमा बुझ्न सकिरहेका छैनन् । सङ्कल्प यात्राले जनतालाई यी सब कुराहरू बुझाउने कार्यनीति लिएको देखिएन ।

ग्लोबल नर्थले नेपालमा आफ्ना रणनीतिक स्वार्थहरू बलियो बनाउने दृष्टिकोणका साथ प्रभावहरू बिस्तार गर्न लगानीहरू गरिरहेको छ। पहिले सशक्तीकरण, शिक्षा र विकासको नाममा त अहिले भाषा र पहिचानको नाममा लगानी गरिरहेका छन् । तर हामी भने उनीहरूको रणनीति नबुझेर प्रयोग भइरहेका छौँ । कम्फर्टेबलवाद र लोकप्रियतावाद यति बेला मुख्य सहयोगी बनिरहेको छ। तथापि उनीहरू एमालेलाई दोष देखाएर चोखिन खोज्दैछन् भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

त्यसैले सञ्चार र सञ्जालहरूमा एमालेमाथि उठाइएका प्रश्न र लगाइएका आरोपहरूको एमालेको मुख्य नेतृत्वदेखि लिएर कार्यकर्ताहरूले आफ्ना असल आचरण र व्यवहारहरूबाट उत्तर दिन र खण्डन गर्न सक्नुपर्छ। यति बेला देश र जनताको पक्षमा उभिने शक्ति नेकपा एमालेलाई बदनाम र कमजोर बनाउन भइरहेका प्रयासलाई जनशक्तिको बलमा असफल बनाउन सक्नुपर्छ । अन्यथा देशलाई जेलेन्स्की पथमा लान खोज्ने लोकप्रियतावादीहरूको योजना सफल बन्न सक्छ । यसर्थ हामी मूर्ख नबनौँ र भ्रममा नपरौँ अनि भावनात्मक रूपमा भड्किएर विचार र नीतिबिनाको राजनीति र चरित्र र नैतिकताबिनाको पात्रलाई आदर्श नठानौँ। आज जो-जो पुराना जति खराब नयाँ जति असल भन्दै छन्, उनीहरू नै वास्तवमा ठिक छैनन् किनभने उनीहरू नेपाली भर्सनका जेलेन्स्की र कारजाईहरू हुन् ।

अहिले मध्य पहाडी मार्गमा जारी रहेको “समृद्धिका लागि सङ्कल्प यात्रा”ले तमाम भ्रमहरूलाई चिर्दै देश विरोधी शक्तिहरूलाई कमजोर बनाउने सामर्थ्य विकास गर्न सक्नुपर्छ। यात्रामा देखिएको जनसहभागिता र सकारात्मक प्रश्नहरूले दक्षिणपन्थीहरू आत्तिएका छन्। कोही सत्ता शक्तिको दुरुपयोग गरेर त कोही देश विदेशमा भ्रम छरेर एमालेका विरुद्धमा गतिविधिहरू गरिरहेका छन्। देशभित्र भएका जनतालाई अलमल्याउन कम्फर्टेबल सत्ता गठबन्धनले नेतृत्व गरिरहेको छ भने विदेशी भूमिमा विभिन्न कारणले श्रम गरिरहेका युवाहरूलाई भ्रममा पार्न लोकप्रियतावादीहरू सक्रिय भइरहेको छन्। पहिचानवादी भनिनेहरू पनि एमालेकै विरुद्धमा देखिएका छन्। यी सबै पक्षको एउटै लक्ष्य नेपालमा नियन्त्रित अस्थिरता बढाउने हो ।

“समृद्धिका लागि सङ्कल्प यात्रा”ले निम्न कामहरू गर्न सघाएको छ :

o    जनता र नेतासँगको संवाद बढाएको र स्थानीय समस्या उजागर गरेको छ ।
o    विकास र समृद्धिको मुद्दा अर्थात् समृद्ध नेपाल सुखी नेपालीको नारा स्थापित गरेको छ ।
o    देशको अवस्था बारेमा जनतालाई राजनीतिक रूपमा सशक्त बनाउने र राजनैतिक तथा संवैधानिक व्यवस्था जोगाउने आधार बनाएको छ ।
o    यात्रा गरिएका क्षेत्रका समस्याहरू प्राथमिकिकरण गरेर त्यसलाई राष्ट्रिय मुद्दा बनाउन सघाउने देखिएको छ।
​​​​​​​o    लाखौँ जनता र हजारौँ कार्यकर्ताहरूलाई एकसाथ परिचालन गरेर उदाहरण देखाएको छ ।
o    पार्टीको शक्ति आँकलनका साथै एकता प्रदर्शन भएको छ ।
o    एमाले विरोधीहरूलाई सोच्न र पछाडि हट्न बाध्य बनाएको छ ।
​​​​​​​o    सञ्चार र सञ्जालमार्फत एमाले विरुद्ध छरिएका भ्रमहरू एक हदसम्म हटाउन सहयोग गरेको छ ।

अन्तमा हामीले राजनीति र राजनीतिक दलहरूको वैचारिक चरित्र बुझेर निर्णय गर्न नसक्दासम्म नेपालमा न बलियो राष्ट्रिय शक्ति बन्छ न त परिपूर्ण लोकतन्त्रको पक्षमा माहौल नै बन्न सक्छ । यो यात्राले जनतालाई राजनीति र राजनीतिक दलहरूको चरित्र बुझाउने प्रयास पनि गरेको छ। तर पर्याप्त भएको छैन । यस्ता यात्राहरूले अन्य क्षेत्रमा पनि निरन्तरता पाउनुपर्छ । तर पनि यो यात्राको समीक्षा गर्न हतार हुनेछ किनभने यात्रा अझै सकिएको छैन । 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : ५३ बजे