एमालेको सरकार नबनेको भए मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन : अध्यक्ष ओली

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेलम्चीको पानी छिटोभन्दा छिटो काठमाडौंमा झार्नुपर्ने बताउनुभएको छ ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्ची–१२ बाहुनेपाटीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा एमालेको सरकारले सम्पन्न गरेको मेलम्ची–काठमाडौं खानेपानी आयोजना एमालेको सरकार नभएको भए बन्दै नबन्ने दाबी गर्नुभयो । ‘नेकपा एमालेको सरकार हुँदैन थियो भने मेलम्ची आयोजनाको पानी काठमाडौँमा झर्ने नै थिएन’, ओलीले भन्नुभयो।

काठमाडौं पानी झरिसकेपछि बाढीले मुहान बिगार्दा रोकिएको पानीको मुहान सफा गर्ने काम समेत वर्तमान सरकारले गर्न नसकेको भन्दै ओलीले आलोचना गर्नुभयो । ‘हेडलाई सफा गर्नुपर्ने भए पनि सार्नु पर्‍यो नि, सार्नु पर्‍यो भनेर कथा हालेर हुन्छ ?’, ओलीले प्रश्न गर्नुभयो।

ओलीले अहिलेको अवस्था हेरेर निराश नहुन मेलम्ची र सिन्धुपाल्चोकवासीलाई निराश नहुन आग्रह गर्नुभयो। देशमा नेकपा एमाले हुँदासम्म जनतालाई निराश हुन नदिने उहाँले प्रष्ट पार्नुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ५५ बजे