एनसेल कम्पनी प्रकरणमा ठुलो आर्थिक अपराधको काम भइरहेको छ : अध्यक्ष ओली  

​​​​​​​काठमाडौँ । नेकपा (एमाले)को पुष्पलाल मध्य पहाडी लोकमार्गमा सञ्चालित ‘झुलाघाट– चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ शनिवार राति नुवाकोट आइपुगेको छ ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अभियान टोली दशौँ दिन शनिवार गोरखाबाट धादिङ हुँदै नुवाकोट आइपुगेको हो ।राति अबेर आइपुगेको टोलीलाई नुवाकोटमा भव्य स्वागत गरिएको छ । नेकपा एमालेका नेता, कार्यकर्ता, स्थानीय र शुभेच्छुकले टोलीलाई भव्य स्वागत गरेका हुन् । 

नुवाकोटको बट्टारमा ठुलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता, स्थानीय र शुभचिन्तकले दिउँसो मध्यान्हदेखि यात्रा टोलीको प्रतीक्षा गरेका थिए । अध्यक्ष ओलीले बट्टारको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतीक्षा, स्वागत र सम्मानप्रति धन्यवाद दिनुभयो ।

अध्यक्ष ओलीले देशको राजनीतिमा अन्यौलता र अराजकता व्याप्त रहेको र अर्थतन्त्र जर्जर रहेको यथार्थ बताउनुभयो । उहाँले पुष्पलाल मध्य पहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताउनुभयो । सो मार्ग नबन्दा व्यापार व्यवसायदेखि बिरामीको उपचारमा समेत समस्या परेको उहाँले बताउनुभयो । नेपालका हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । 

अब हिजोको जस्तो निर्वाहमुखी होइन, समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउँदै यही सन्देश लिएर नेकपा (एमाले)ले मङ्सिर १४ गतेबाट अभियान सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो । यात्राको क्रममा राति १० बजेसम्म पनि नागरिकले पर्खिएर शुभकामना दिएको भन्दै अध्यक्ष ओलीले धन्यवाद दिनुभयो ।

उहाँले एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र कुन अवस्थामा पुगेको छ भन्ने नेपालीले अनुभूत गरिरहेको बताउनुभयो । जे गरे पनि पाइने, जे गरे पनि हुने अवस्थामा देश पुगेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । अहिले एनसेल कम्पनी प्रकरणमा ठुलो आर्थिक अपराधको काम भइरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले सन् २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले सो कुरा छल्नलाई कम्पनी अर्कालाई बेचेको नाटक गरिएको र यसबाट खर्बौँको कारोबार अर्बमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको बताउनुभयो । 

अध्यक्ष आलीले देशलाई कङ्गाल बनाएर केही मानिसले ढुकुटी भर्ने यस्तो कमिसनको खेल बन्द गर्न सरकारलाई आग्रह गर्नुभयो । यो खेल नेकपा (एमाले) नेपाली जनतालाई मान्य नहुने उहाँले स्पष्ट पार्नुभयो । 

वर्तमानमा गठबन्धन सरकार निकम्मा भएकाले यसको सरकारमा बस्ने हैसियत नरहेको उहाँले बताउनुभयो । यो सरकार अब देशको लागि अफाप सिद्ध भइसक्यो, सो सरकारलाई सत्तामा बस्ने अधिकार नै छैन’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : १९ बजे