एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा आज बागमती प्रवेश गर्दै

काठमाडौँ । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत टोलीले आज गण्डकी प्रदेशको यात्रा सकेर बागमती प्रदेश गर्दैछ । 

मङ्सिर १४ गते अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यात्रारत एमालेको टोलीले आज गण्डकी प्रदेशको यात्रा सकेर बागमती प्रदेश गर्न लागेको हो ।

यात्रा टोलीले हालसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा सकिएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । ‘आजको बास हामी गण्डकी प्रदेशको गोरखामा बसेका थियौँ’ उहाँले भन्नुभयो, ‘बिहानको खाना सल्यानटारमा खाएर हामी धादिङ प्रवेशसँगै बागमती प्रदेशतर्फ लाग्नेछौँ ।’

आजको बास नुवाकोटको विदुरमा हुनेछ । नुवाकोट मध्य पहाडी राजमार्गको विन्दु हो । अर्थात् कुल १ हजार ८ सय ७९ किलोमिटर लामो यो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व पर्छ भने आधा भाग पश्चिमतर्फ । ‘यात्राको दसौँ दिन हामी मध्य भागमा आइपुग्दैछौँ’, गौतमले भन्नुभयो, ‘अब नौ दिनमा बाँकी दुरी पार गर्दै यात्रा समापन हुनेछ ।’

आरुघाट, सामरी भन्ज्याङ,भर्‍याङभुरुङ आदि ठाउँमा आजका भेटघाटहरू हुने एमालेले जनाएको छ । आजको आमसभा नुवाकोटको विदुरमा हुनेछ ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने ,विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ४६ बजे