एमालेको सङ्कल्प यात्रा टोली आज लमजुङ र गोरखा जाँदै

काठमाडौँ । नेकपा एमालेको लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा टोली आज पोखराका विभिन्न स्थानका कार्यक्रम सकेर लमजुङ र गोरखा जाँदैछ । 

यात्राको नवौँ दिन आज गण्डकी प्रदेशको यात्रा समापन हुनेछ । आजको यात्रा पोखराबाट सुरु भएर नयाँपुल, रामटार, काँडे र भोर्लेटारमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट हुनेछ । 

बिहानको खाना लमजुङको सुन्दर बजारमा हुनेछ भने यही ठाउँमा आमसभा पनि हुने पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । आमसभा सकिएसँगै अध्यक्ष केपी शर्मा ओली हितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ ।

मध्य पहाडका सामाजिक आर्थिक,सांस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन, स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीमा मङ्सिर १४ गतेबाट एमालेले मध्य पहाडी राजमार्गको यात्रा सुरु गरेको हो । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित मङ्सिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्जयाङ मा टुङ्गिनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : ३२ बजे