सुनको मूल्यमा नयाँ कीर्तिमान

एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न अदालतको आदेश

काठमाडौँ । एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा एनसेलको सेयर खरिद बिक्री भएको भए पनि त्यस्तो खरिद बिक्रीको अभिलेखीकरण र सेयर नामसारी नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

यसअघि यिनै निवेदक रोकायाले दायर गरेको एनसेलको सेयर बिक्रीसम्बन्धी रिटमा अदालतले आगामी मङ्सिर २५ गतेका लागि अन्तरिम आदेश छलफलका लागि बोलाएको थियो । यस रिटमा पनि मङ्सिर २५ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशको निरन्तरताका लागि छलफलमा बोलाएको छ । 

उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ५ : ४९ बजे