सभामुखद्वारा चिकित्सक, कृषक र गृहिणी पुरस्कृत

झापा । सभामुख देवराज घिमिरेले उत्कृष्ट चिकित्सक, कृषक र गृहिणीलाई पुरस्कृत गर्नुभएको छ । 

सभामुख घिमिरेले लाल भागीरथा बानियाँ प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा उत्कृष्ट चिकित्सक, कृषक र गृहिणीलाई पुरस्कृत गर्नुभएको हो । प्रतिष्ठानले सामाजिक क्षेत्रमा अग्रणी रहेका प्रतिभालाई प्रतिष्ठानले बर्सेनि पुरस्कृत गर्दै आएको छ।

पुरस्कृत हुनेमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा डा सञ्जीव शर्मा, व्यावसायिक रूपमा जैविक खेती गर्दै आउनुभएका मेचीनगरका कृषक बद्री राउत र उदाहरणीय महिला हिमा लुइँटेल पाठक हुनुहुन्छ ।

सभामुख घिमिरेले उहाँहरू तीनै जना प्रतिभालाई मेचीनगर–११ बानियाँ गाउँमा आयोजित समारोहमा जनही रु ३१ हजार नगद, दोसल्ला र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो । 

सभामुख घिमिरेले स्वास्थ्य सेवालाई विपन्न समुदायको पहुँचमा पुर्‍याउने चिकित्सक, आरोग्यताका लागि अपरिहार्य जैविक कृषि बाली उत्पादन गर्ने कृषक र ज्येष्ठ नागरिकको हेरचाहमा प्रशंसनीय कार्य गर्ने गृहिणीलाई एक थलोमा पुरस्कृत गर्ने परम्पराको थालनी गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

झापामा जन्मेर देश विदेशमा ख्याति आर्जन गर्नुभएका प्रतिभालाई प्रतिष्ठानले हरेक वर्ष सम्मान गर्दछ । पुरस्कार प्रदान गर्नका लागि प्रतिष्ठानले रु १० लाखको अक्षयकोष स्थापना गरेको छ । यस वर्ष प्रा डा सञ्जीव शर्मालाई लाल भागीरथा उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान गरिएको हो । प्रा डा शर्मा विगत २६ वर्षदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु, मिर्गौला, मधुमेह र सर्प दंश उपचारका लागि विशेषज्ञको रूपमा सेवारत हुनुहुन्छ ।

प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहनुभएका उहाँको चिकित्सा क्षेत्रमा १५ वटा विधाका एक सय ६७ वटा अनुसन्धान र सात वटा पुस्तक प्रकाशित भइसकेका छन् । कोसी प्रदेशको दूरदराजमा उहाँको नेतृत्वमा हाल विपन्नका लागि स्वास्थ्य शिविर र टेलिमेडिसन सेवा सञ्चालन भइरहेको छ ।

झापाको मेचीनगर–१४ दुहागढीमा विसं २०२५ चैत १८ गते जन्मनुभएका उहाँ भुँइमान्छेको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन समर्पित चिकित्सकको रूपमा परिचित हुनुहुन्छ ।  

यसैगरी, लाल भागीरथा उत्कृष्ट कृषि पुरस्कारबाट पुरस्कृत मेचीनगर–५ निवासी बद्रीकुमार राउतले वैदेशिक रोजगारीबाट घर फर्केर १० कट्ठा जग्गामा व्यावसायिक रूपमा जैविक खेती गरिरहनुभएको छ । उहाँले तरकारी र दुग्धजन्य उत्पादन बजारमा लगेर वार्षिक रु १५ लाखको आम्दानी गर्दै आउनुभएको छ ।

लाल भागीरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट सम्मानित बिर्तामोड–४ की हिमा लुइँटेल वृद्धावस्था र रोगले थलिनुभएका सासू ससुराको स्याहार र सामाजिक क्षेत्रमा असल महिलाको रूपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : ०७ बजे