आन्तरिक हवाई उडानमा अत्यधिक चाप

इन्डियन आइडलमा उदाएकी मेनुकालाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गायिका मेनुका पौडेलको गायन यात्राको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति भण्डारीले जन्मजात दृष्टिविहीन रहनुभएकी मेनुका पौडेलको सङ्गीतप्रतिको लगाव र कठिन सङ्घर्षको प्रशंसा गर्नुभएको छ । 

'म कलाकार मेनुका पौडेलको इण्डियन आइडलसहित उहाँको समग्र गायन यात्राको सफलताको लागि हार्दिक शुभकामना दिन चाहन्छु',उहाँले भन्नुभएकाे छ । 

मेनुकाको लगाव र  सङ्घर्षले नेपाली किशोर–किशोरी एवं युवा युवतीलाई आफ्नो रुचिको क्षेत्रमा गम्भीरतापूर्वक लाग्न प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।

'जन्मजात दृष्टिविहीन रहनुभएकी मेनुका पौडेलको सङ्गीतप्रतिको यो लगाव, यसका लागि उहाँले गर्नुभएको कठीन संघर्ष र उहाँले हासिल गर्नुभएको यो सफलताले नेपाली किशोर–किशोरी एवं युवा युवतीलाई आफ्नो रूचिको क्षेत्रमा गम्भिरतापूर्वक लागि पर्न प्रेरणा प्रदान गर्नेछ',उहाँले लेख्नुभएकाे छ ।

भारतीय टेलिभिजन गायन प्रतियोगिता-इन्डियन आइडल, सिजन १४ को प्रतिस्पर्धीको रूपमा झापा हल्दिबारीकी गायिका मेनुका पौडेलले आफ्नो उत्कृष्ट गायनकलाको माध्यमबाट सबैको मन जित्न सफल हुनुभएको छ ।

मेनुकाको गायकीबाट प्रतियोगिताका मूल्याङ्कनकर्ता लगायत अतिथिका रूपमा आउने भारतीय सङ्गीत एवं चलचित्र क्षेत्रका ठुला ठुला हस्तीहरूसमेत मन्त्रमुग्ध हुने गरेका छन् । 

​​​​​​​

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ५ : २४ बजे