बागलुङमा समृद्धिका लागि सङ्कल्प यात्रा दुई दिनसम्म सञ्चालन हुने

गलकोट (बागलुङ) ।  नेकपा (एमाले)ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ ।

नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बागलुङ आउने र भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ ।

अध्यक्ष ओली नेतृत्वको केन्द्रीय टोलीलाई स्वागत गर्न गण्डकी र लुम्बिनी प्रदेशको सीमा क्षेत्र बागलुङको पातिहाल्नेमा गण्डकी प्रदेशका एमालेका नेता पुगेका छन् । अध्यक्ष ओलीसहित एक सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ । बुधवार गलकोटसम्म हुने सङ्कल्प यात्रा बिहीबार दिउँसो बागलुङ जिल्ला सदरमुकाममा संवाद कार्यक्रम रूपान्तरण हुने एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसीले राससलाई बताउनुभयो ।

सङ्कल्प यात्रालाई लक्षित गरी पार्टीले १० स्थानीय तहका गाउँ तथा नगर र वडा स्तरसम्म भेला आयोजना गरिसकेको छ । यहाँका कार्यक्रम सफल बनाउन पार्टीका सबै जनसङ्गठन परिचालन भएका छन् । 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : २७ बजे