एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा: यात्रा टोली लुम्बिनी प्रवेश

काठमाडौँ । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत यात्रा टोली लुम्बिनी प्रवेश गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको टोलीले सुदूरपश्चिम र कर्णाली प्रदेशको यात्रा सकेर मङ्गलवार साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको हो । 

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार मङ्गलवार यात्राका क्रमको सबैभन्दा लामो दुरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको छ । मङ्गलवारको यात्रामा सुर्खेत, सल्यान, जाजरकोट, पश्चिम रुकुमका जनतासँग साक्षात्कार र अन्तरक्रिया गरिएको छ । राती करिब ९ः०० बजेतिर टोली पूर्वी रुकुम पुगेको हो ।

मध्य पहाडी राजमार्गमा पर्ने २६ वटा जिल्ला लुम्बिनी प्रदेशमा पर्ने एक मात्र जिल्ला पूर्वी रुकुम हो । यो जिल्लामा करिब ४० किलोमिटर दुरी मध्य पहाडी राजमार्गमा पर्दछ । 

प्रमुख गौतमका अनुसार अहिले बिहान ९ः०० बजे स्थानीय नेता कार्यकर्ताहरूसँग अध्यक्ष ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशको बागलुङस्थित बुर्तिबाङमा बिहानको खाना खाने तयारी छ । आज लुकुम र खर्बाङमा स्थानीय बासिन्दासँग अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रमुख गौतमले जानकारी दिनुभयो ।

नेकपा एमालेले मङ्सिर १४ गते देखि मध्य पहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट पूर्व सीमा विन्दु पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा गरिरहेको छ ।

मङ्सिर १४ देखि सुरु १९ दिनको पदयात्रा सुदूरपश्चिम र कर्णालीमा सकिसकेको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : १७ बजे